जनकपुरधाम, २६ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाअन्तर्गत जनकपुरधामस्थित रक्तसञ्चार केन्द्रमा हाल ६१ युनिट रगत मौज्दात रहेको छ ।

केन्द्रले उपलब्ध गराएको बिहीबारको विवरणअनुसार होल ब्लड ५३ युनिट र प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) ८ युनिट गरी कुल ६१ युनिट रगत मौज्दात रहेको छ ।

रक्तसञ्चार केन्द्रको विवरणअनुसार होल ब्लडतर्फ बी पोजेटिभ २२, ए पोजेटिभ १५, ओ पोजेटिभ ७, एबी पोजेटिभ ४, ए नेगेटिभ २, ओ नेगेटिभ २ र बी नेगेटिभ १ युनिट रहेको छ ।

त्यस्तै, पीआरबीसीतर्फ ए पोजेटिभ २, ओ पोजेटिभ २, बी पोजेटिभ ५ र ए नेगेटिभ १ युनिट रहेको विवरण छ ।

चाडपर्व तथा अन्य समयमा बिरामीलाई रगतको आवश्यकता पर्ने क्रम जारी रहने भएकाले रक्तसञ्चार केन्द्रमा सबै समूहको पर्याप्त रगत मौज्दात राख्नु चुनौतीपूर्ण रहेको नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले बताए ।

उनले रगतको अभाव हुन नदिन नियमित रक्तदान आवश्यक रहेको उल्लेख गर्दै स्वस्थ व्यक्तिहरूलाई रक्तदान अभियानमा सहभागी हुन आग्रह गरे ।

उनका अनुसार रक्तदानले बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले यसलाई मानवीय सेवाको अभिन्न अंगका रूपमा लिनुपर्छ ।

सभापति महतोले कुनै पनि बिरामीले रगतको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन रेडक्रसले रक्तसञ्चार सेवालाई निरन्तर प्रभावकारी बनाउने प्रयास गरिरहेको बताए ।

रक्तसञ्चार केन्द्रले रगत आवश्यक पर्ने व्यक्ति तथा आफन्तलाई रक्त समूह र उपलब्धताबारे जानकारी लिन कार्यालय वा रक्तसञ्चार सेवामा सम्पर्क गर्न आग्रह गरेको छ ।