सर्लाही, २४ कार्तिक । सर्लाही प्रहरीले जुवातास तथा कौडा खेलिरहेको अवस्थामा जिल्लाका विभिन्न पाँच स्थानबाट ३७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय गरी १० लाख ७९ हजार ५९० रुपैयाँ नगदसहित जुवा खेल्न प्रयोग हुने तास, कौडा, डाइस र मोबाइललगायतका सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कार्तिक २३ र २४ गते बरहथवा, ब्रह्मपुरी, लालबन्दी र मलंगवा क्षेत्रमा छुट्टाछुट्टै प्रहरी टोली परिचालन गरी कारबाही गरिएको थियो ।

प्रहरीले कार्तिक २४ गते लालबन्दी नगरपालिका–४ हरिभवन टोलस्थित भुवनकुमार श्रेष्ठको घरमा छापा मारेर घरधनीसहित नौ जनालाई पक्राउ गरेको थियो । उनीहरू तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । उक्त स्थानबाट ६२ हजार रुपैयाँ नगद, ६ बुक तास, १६ वटा कौडा र ६ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, कात्तिक २३ गते राति करिब १० बजे बरहथवा नगरपालिका–९ मुर्तियास्थित कमल लामाको घरनजिकैको खाली जग्गामा कौडा खेलिरहेका अवस्थामा दुई जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ५५ वर्षीया शान्ता गुरुङ र ४१ वर्षीय दीपक गुरुङ रहेका छन् । उनीहरूको साथबाट ३६ हजार ५५५ रुपैयाँ नगद र १६ वटा कौडा बरामद भएको छ ।

सोही राति करिब २ः३० बजे ब्रह्मपुरी गाउँपालिका–१ मा प्रहरीले दुई स्थानमा छापा मारेको थियो । धनैस साह कलवारको कुखुरा फार्ममा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका थिए । उनीहरूको साथबाट एक लाख १५ हजार ८९५ रुपैयाँ नेपाली र ६ सय भारतीय रुपैयाँ नगद, तीन बुक तास तथा माछापुच्छ्रे बैंकको एक लाख ३० हजार रुपैयाँ उल्लेख भएको चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही स्थानमा रहेको सन्तोष साहको घरमा गरिएको कारबाहीमा थप सात जना पक्राउ परेका थिए । उनीहरूको साथबाट दुई लाख तीन हजार ९३० रुपैयाँ नेपाली र दुई सय भारतीय रुपैयाँ नगद, ६ वटा डाइस, डाइस खेल्ने खाल, दुईवटा बट्टा, पाउडर, तीन बुक तास र एउटा लाइट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

यसैगरी, मलंगवा नगरपालिका–८ स्थित कोल्ड स्टोरनजिक भागनारायण चौधरीको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर नौ जनालाई नियन्त्रणमा लिएको थियो । उक्त स्थानबाट ६ लाख ३० हजार १६० रुपैयाँ नेपाली र ३० हजार २५० भारतीय रुपैयाँ नगद तथा तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाँच स्थानमा गरिएको कारबाहीबाट कुल ३७ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १० लाख ४८ हजार ५४० रुपैयाँ नेपाली र ३१ हजार ५० रुपैयाँ भारतीय गरी कुल १० लाख ७९ हजार ५९० रुपैयाँ नगद बरामद भएको छ ।

त्यसैगरी, प्रहरीले ३१ थान मोबाइल, १५ बुक तास, ३२ वटा कौडा, ६ वटा डाइस तथा जुवा खेल्न प्रयोग हुने अन्य सामग्रीसमेत नियन्त्रणमा लिएको छ ।

चाडपर्वको समयमा जिल्लाका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ । एउटै रातमा विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीबाट ठूलो रकमसहित ३७ जना पक्राउ पर्नुले जिल्लामा जुवाजन्य गतिविधि व्यापक रूपमा सञ्चालन भइरहेको संकेत गरेको छ ।