पर्सा, २४ कार्तिक । चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका पटाका तथा विस्फोटकजन्य पदार्थ नियन्त्रणमा लिन प्रहरीले सक्रियता बढाएको छ ।

पर्सा प्रहरीले पछिल्लो चार दिनमा जिल्लाका विभिन्न स्थानबाट करिब तीन लाख ५० हजार रुपैयाँ बराबरका पटाका तथा आतिशबाजीजन्य सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले कार्तिक २१ गतेदेखि विभिन्न स्थानमा गरेको जाँच तथा निगरानीका क्रममा खुर्सानी पटाका, चक्र, फुलझरी, रकेट पटाका, आलु बम र झिरझिरेलगायतका सामग्री नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पटाका तथा आतिशबाजीजन्य सामग्री विस्फोटक पदार्थअन्तर्गत पर्ने भएकाले कानुनले यसको उत्पादन, भण्डारण, बिक्री वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

उनले यस्ता पदार्थको प्रयोगले आगलागी, जनधनको क्षति तथा वातावरण प्रदूषणको जोखिम निम्त्याउने भन्दै सर्वसाधारणलाई पटाका प्रयोग नगर्न आग्रह गरेका छन् ।

मल्लले बालबालिकालाई यस्ता विस्फोटकजन्य पदार्थबाट टाढा राख्न र सम्भावित दुर्घटनाबाट जोगाउँदै सुरक्षित रूपमा चाडपर्व मनाउन पनि अनुरोध गरेका छन् ।

पर्सामा पटाका नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाइरहेका बेला सोमबार मात्रै पटाका पड्काउने क्रममा भएको दुर्घटनामा पाँच वर्षीय बालकको ज्यान गएको थियो ।

पकाहाँ मैनपुर गाउँपालिका–२ मधुवनीमा पटाका पड्काउने क्रममा छर्रा लागेर स्थानीय पाँच वर्षीय कुन्दन सहनीको मृत्यु भएको थियो । बालकको मृत्युपछि प्रहरीले पटाकाको अवैध कारोबार तथा प्रयोग नियन्त्रणमा थप कडाइ गरेको जनाएको छ ।

विशेषगरी भारतसँग सीमा जोडिएका क्षेत्रमा पटाकाको अवैध ओसारपसार तथा बिक्री वितरण हुने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी गस्ती र निगरानी बढाइएको छ ।

यसअघि पनि प्रहरीले असोज २६ गते सार्वजनिक सूचना जारी गर्दै चाडपर्वका समयमा पटाका तथा विस्फोटकजन्य सामग्रीको प्रयोग नगर्न सर्वसाधारणलाई सचेत गराएको थियो ।

पटाकाबाट हुने दुर्घटनाले मानवीय क्षतिसमेत निम्त्याउन थालेपछि प्रहरीले नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । तर, सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणसँगै बजारमा यसको बिक्री वितरण रोक्न र बालबालिकाको पहुँचबाट यस्ता सामग्री टाढा राख्न प्रभावकारी निगरानी आवश्यक देखिएको छ ।