मधेशका मुख्यमन्त्री यादव राजीनामा दिने तयारीमा
जनकपुरधाम, २४ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने आधार कमजोर बन्दै गएपछि मुख्यमन्त्री यादव विश्वासको मतको प्रक्रियामा जानुभन्दा राजीनामा दिएर सत्ता छाड्ने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत लिनुपर्ने समयसीमा अब एक सातामात्र बाँकी रहँदा पनि सत्तारूढ नेपाली कांग्रेसले अन्य राजनीतिक दलबाट समर्थन जुटाउन सकेको छैन । सरकारलाई निरन्तरता दिन विभिन्न दलसँग छलफल भइरहे पनि अहिलेसम्म कुनै ठोस सहमति हुन नसकेको बताइएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिने मिति समेत तय गर्न नसक्नुको प्रमुख कारण अन्य दलबाट समर्थनको सुनिश्चितता नहुनु रहेको सरकारका मन्त्रीहरूको भनाइ छ ।
कृषिमन्त्री श्याम पटेलले सरकारले विश्वासको मत लिने मितिबारे अहिलेसम्म निर्णय भइनसकेको बताए । उनका अनुसार मुख्यमन्त्री यादव अन्य दलसँग निरन्तर संवादमा छन् ।
‘मुख्यमन्त्रीले वर्तमान सरकारलाई सहयोग गर्न अन्य दलसँग छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘कुनै दलसँग सहमति भयो भने विश्वासको मत लिइन्छ, नभए कसरी अगाडि बढ्ने भन्नेबारे त्यसपछि छलफल हुन्छ ।’
तर, सरकारभित्रै भने विश्वासको मत प्राप्त हुने सम्भावना न्यून देखिएकाले राजीनामाको विकल्पमा छलफल भइरहेको स्रोतको दाबी छ । सरकारका एक मन्त्रीका अनुसार अन्य दलबाट समर्थनको प्रतिबद्धता नआए मुख्यमन्त्रीले विश्वासको मतको प्रक्रिया नै अघि नबढाई राजीनामा दिने तयारी गरेका छन् ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यादवले यही कार्तिक २८ गतेसम्म राजीनामा दिने सम्भावना छ । यद्यपि, अन्तिम समयसम्म अन्य दलसँग सहमति जुटाउने प्रयास भने जारी रहने बताइएको छ ।
नेकपा एमालेले गत असोज ३० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेको थियो ।
सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन नभएको भन्दै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको थियो ।
दुवै दल सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवलाई प्रदेशसभामा बहुमत कायम राख्न कठिन भएको छ । कांग्रेसले सरकार जोगाउन अन्य दलसँग संवाद अघि बढाए पनि अहिलेसम्म राजनीतिक समीकरण आफ्नो पक्षमा पार्न सकेको छैन ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिनुअघि नै राजीनामा दिएमा संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ ।
तर, मुख्यमन्त्रीले विश्वासको मत लिएर असफल भएमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यही संवैधानिक प्रक्रियालाई समेत ध्यानमा राखेर मुख्यमन्त्री यादवले विश्वासको मत परीक्षण गर्नुभन्दा राजीनामाको बाटो रोज्न खोजेको राजनीतिक वृत्तमा चर्चा छ ।
मुख्यमन्त्रीले राजीनामा दिएमा मधेस प्रदेशमा पुनः नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता समीकरणको कसरत सुरु हुनेछ । त्यसले प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने देखिन्छ ।
मुख्यमन्त्री यादवका लागि अबको एक साता राजनीतिक रूपमा निर्णायक देखिएको छ । एकातिर कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने प्रयास भइरहेको छ भने अर्कोतिर एमाले र नेकपा सरकारबाट बाहिरिएपछि नयाँ सत्ता समीकरणका लागि अन्य दलहरूबीच पनि छलफल जारी छ ।
सरकारले विश्वासको मत लिने वा मुख्यमन्त्रीले राजीनामा दिने भन्ने विषयमा औपचारिक निर्णय सार्वजनिक नभए पनि सरकारभित्रै राजीनामाको तयारी भइरहेको खबरले मधेश प्रदेशको सत्ता राजनीति थप तरंगित बनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




