जनकपुरधाम, २४ कार्तिक । तराई–मधेशको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको बहुप्रतीक्षित पुल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

करिब १५ वर्षदेखि निर्माण र पुनर्निर्माणको चक्रमा फसेको पुलको कामले गति लिएसँगै मङ्सिर पहिलो सातादेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

पुलमाथिको ढलान कार्य सम्पन्न भइसकेको छ भने दुवैतर्फको सडकसँग पुल जोड्न माटो भर्ने (फिलिङ) काम भइरहेको छ । उक्त काम सम्पन्न भएपछि पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

उनका अनुसार पुलको मुख्य संरचनाको काम पूरा भइसकेको र अहिले पुलसम्म पुग्ने पहुँच सडकलाई व्यवस्थित बनाउने काम भइरहेको छ । माटो फिलिङलगायत बाँकी काम सम्पन्न गरी मङ्सिरको पहिलो सातादेखि सवारी आवागमन खुला गर्ने कार्यालयको तयारी छ ।

यसैबीच, पुल सञ्चालनको तयारीसँगै हुलाकी राजमार्गअन्तर्गत जनकपुरधामको कदमचोकदेखि कमला पुलसम्म सडकको क्षेत्राधिकारभित्र रहेका अनधिकृत संरचना पनि हटाइएको छ । सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा तथा घुम्ती पसललगायतका संरचना डोजर प्रयोग गरी हटाएर सडक खाली गराइएको प्रमुख महतोले बताए ।

पटकपटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि सडक विस्तार तथा आवागमन सहज बनाउन बाध्य भएर डोजर प्रयोग गर्नुपरेको उनको भनाइ छ ।

धनुषा र सिरहालाई जोड्ने कमला पुलको निर्माणका लागि विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले ठेक्का पाएको थियो । निर्माण कार्य अघि बढे पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण पुलले निर्धारित समयमा पूर्णता पाउन सकेन ।

विसं २०७८ असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलरमा क्षति पुर्याएपछि निर्माण कार्य पुनः अन्योलमा परेको थियो। पुलको संरचनामा क्षति पुगेपछि लामो समयसम्म पुनर्निर्माणको प्रक्रिया अघि बढाउनुपरेको थियो ।

पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि पछिल्लो समय निर्माण कार्यले गति लिएको योजना कार्यालयले जनाएको छ ।

कमला नदीमाथि सहज यातायात सम्पर्क नहुँदा धनुषा र सिरहाका बासिन्दाले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । वर्षायाममा नदीमा पानीको बहाव बढ्दा एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न डुङ्गाको सहारा लिनुपर्ने बाध्यता रहँदै आएको थियो ।

कतिपय अवस्थामा सर्वसाधारणले जोखिम मोलेर नदी पार गर्नुपर्ने अवस्था थियो ।

पुल सञ्चालनमा आएपछि धनुषा र सिरहाबीचको दूरी र यात्रा समय घट्नुका साथै जनकपुरधामबाट सिरहा तथा आसपासका क्षेत्रमा आवतजावत सहज हुने विश्वास गरिएको छ ।

धनुषाको कमला नगरपालिकाका स्थानीय सुमनकुमार यादवका अनुसार पुल सञ्चालनमा आउनु स्थानीय बासिन्दाका लागि लामो समयदेखिको प्रतीक्षाको विषय हो । यसले दैनिक आवतजावत मात्र नभई शिक्षा, स्वास्थ्य, व्यापार तथा अन्य सामाजिक गतिविधिमा समेत सहजता ल्याउनेछ ।

कमला पुल सञ्चालनमा आउनु दुई जिल्लाबीच यातायात सम्पर्क स्थापित हुनु मात्र नभई यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिलाई समेत गति दिने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । कृषि उपज तथा स्थानीय उत्पादनको ढुवानी सहज हुनुका साथै जनकपुरधाम र सिरहा क्षेत्रबीच व्यापारिक सम्बन्ध विस्तारमा समेत यसले योगदान पुर्याउने विश्वास गरिएको छ ।

यद्यपि, पुल सञ्चालनको औपचारिक मिति घोषणा हुनुअघि पहुँच सडक, सुरक्षा व्यवस्था तथा अन्य आवश्यक पूर्वाधारको काम पूर्ण रूपमा सम्पन्न हुनुपर्नेछ । वर्षौंदेखि प्रतीक्षामा रहेका स्थानीयवासीका लागि अब मुख्य चासो पुल कहिले सञ्चालन हुन्छ भन्नेभन्दा पनि तोकिएको समयमै सञ्चालनमा आउँछ कि आउँदैन भन्ने बनेको छ ।