धनुषा रेडक्रसमा ४२ युनिट मात्र रगत मौज्दात, रक्तदान गर्न सभापति महतोको अपिल
जनकपुरधाम, ०८ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधाममा हाल ४२ युनिट मात्र रगत मौज्दात रहेको छ ।
शाखाले आइतबार सार्वजनिक गरेको रक्तभण्डार विवरणअनुसार विभिन्न चार रक्त समूहको रगत मात्र उपलब्ध रहेको छ ।
उपलब्ध विवरणअनुसार ‘ओ पोजेटिभ’ (O+) रक्त समूहको २७ युनिट, ‘ए पोजेटिभ’ (A+) को १० युनिट, ‘बी पोजेटिभ’ (B+) को ३ युनिट र ‘एबी पोजेटिभ’ (AB+) को २ युनिट रगत मौज्दात रहेको छ । यसअनुसार कुल ४२ युनिट रगत उपलब्ध छ ।
रगतको अभावमा कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन नियमित रक्तदान आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले बताए ।
सभापति महतोले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै स्वस्थ व्यक्तिहरूलाई स्वेच्छिक रक्तदानमा सहभागी हुन आग्रह गरे ।
अस्पतालमा उपचाररत बिरामी, दुर्घटनामा परेका घाइते तथा आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्ने भएकाले रक्तदानलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।
उनले रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै युवावर्ग, सामाजिक संघसंस्था तथा विभिन्न समुदायलाई रक्तदान अभियानमा जोड्न सके रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।
रक्तदान गर्न इच्छुक स्वस्थ व्यक्तिहरूलाई नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधामसँग समन्वय गरी रक्तदान गर्न आग्रह गरिएको छ ।
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित रेडक्रसले एक युनिट रगतले कसैको जीवनमा आशा जगाउन सक्ने भन्दै स्वेच्छिक रक्तदानमा सहभागी हुन सबैमा अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




