जनकपुरधाम, ०७ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखास्थित रक्त सञ्चार सेवामा रगतको मौज्दात घटेर २८ युनिटमा सीमित भएको छ । ,

शनिबारको रक्त भण्डार विवरणअनुसार चार प्रकारका रक्त समूहको रगत गरी कुल २८ युनिट मात्र मौज्दात रहेको छ ।

रेडक्रसको विवरणअनुसार ए पोजेटिभ (A+) समूहको १ युनिट, बी पोजेटिभ (B+) समूहको रगत मौज्दात नरहेको, ओ पोजेटिभ (O+) समूहको २७ युनिट र एबी पोजेटिभ (AB+) समूहको रगत मौज्दात नरहेको उल्लेख छ ।

रगतको मौज्दात न्यून रहेकाले बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउन चुनौती हुन सक्ने देखिएको छ ।

आकस्मिक दुर्घटना, प्रसूति सेवा, शल्यक्रिया तथा अन्य गम्भीर अवस्थाका बिरामीलाई रगत आवश्यक पर्ने भएकाले रक्तदानलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको रेडक्रसले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले रगतको अभाव हुन नदिन सबैलाई स्वैच्छिक रक्तदानमा सहभागी हुन आग्रह गरेका छन् ।

सभापति महतोले रक्तदानलाई मानवीय सेवाको महत्त्वपूर्ण कार्यका रूपमा लिनुपर्नेमा जोड दिँदै स्वस्थ व्यक्तिहरूलाई रक्तदानका लागि अघि सर्न आग्रह गरेका छन् ।

रेडक्रसले रक्तदान कार्यक्रम आयोजना गर्न विभिन्न संघसंस्था, युवा क्लब, सामाजिक अभियन्ता तथा नियमित रक्तदातालाई आग्रह गरेको छ ।

चाडपर्व तथा अन्य कारणले रक्तदान कार्यक्रम कम हुँदा रक्त सञ्चार सेवामा रगतको मौज्दात घट्न सक्ने भएकाले नियमित रक्तदान कार्यक्रम आवश्यक रहेको छ ।

रक्तदान गर्न इच्छुक व्यक्तिहरूले नेपाल रेडक्रस सोसाइटी धनुषा शाखामा सम्पर्क गरी रक्तदान गर्न सक्नेछन् ।

‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित रेडक्रसले एक युनिट रगतले पनि कसैको जीवनमा आशा जगाउन सक्ने भन्दै स्वैच्छिक रक्तदान अभियानमा सहभागी हुन सबैमा अपिल गरेको छ ।