जनकपुरधाम, ०७ कार्तिक । धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल सञ्चालनमा ल्याउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा मन्त्रीहरूले पटकपटक समयसीमा तोक्दै आए पनि पुल सञ्चालनको विषय अन्योलमै रहेको छ ।

कमला नदीमा निर्माण गरिएको पुल सञ्चालनमा नआउँदा धनुषा र सिरहासहित आसपासका क्षेत्रका स्थानीयवासीले लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका छन् ।

दुई जिल्लाबीचको यातायात सहज बनाउने र स्थानीयको यात्रा छोट्याउने अपेक्षासहित निर्माण गरिएको पुल सञ्चालनमा ढिलाइ हुँदा सर्वसाधारण प्रभावित भएका छन् ।

पुल सञ्चालनमा ल्याउने विषयमा विभिन्न समयमा जनप्रतिनिधि तथा सरकारी पदाधिकारीबाट समयसीमा सार्वजनिक हुँदै आए पनि त्यसअनुसार काम अघि बढेको स्पष्ट अवस्था देखिएको छैन । यसले पुल सञ्चालनको प्रतीक्षामा रहेका स्थानीयवासीमा निराशा बढाएको छ ।

कमला पुल सञ्चालनमा आएपछि धनुषा र सिरहाबीचको आवागमन सहज हुनुका साथै व्यापार, व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । तर, सञ्चालनको निश्चित समय स्पष्ट नहुँदा पुलबाट प्रत्यक्ष लाभ लिनुपर्ने नागरिक अझै प्रतीक्षामा छन् ।

स्थानीयवासीका लागि महत्त्वपूर्ण रहेको यस पुललाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायले आवश्यक प्रक्रिया पूरा गरी स्पष्ट समयसीमा र कार्ययोजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ छ ।