ट्रक र ईभी गाडी ठोक्किँदा १२ जना घाइते, एकको अवस्था गम्भीर
सर्लाही, ०७ कार्तिक । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र ईभी गाडी एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।
शनिबार भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सर्लाहीबाट पूर्वतर्फ बर्दिवास जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा ईभीमा सवार १२ जना घाइते भएका हुन् ।
दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी र वडा नम्बर ९ का ४८ वर्षीय राजेन्द्र राम घाइते भएका छन् ।
त्यस्तै, बाराको सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम र ४७ वर्षीय रुदल राम तथा सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम घाइते भएका छन् ।
यसैगरी, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम र ३७ वर्षीय उमेश राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देश राम तथा सिम्रौनगढ नगरपालिका–४ का ४० वर्षीय नवलकिशोर राम पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि कलैयास्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा ल्याएर राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




