रौतहट, ०७ कार्तिक । रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा शनिबार बिहान भएको दुर्घटनामा फतुवा विजयपुर नगरपालिका–१, बर्गिनिया टोलकी ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार पण्डित गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि गरुडास्थित हेल्थ ल्याण्ड अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

घटनाबारे थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।