पत्रकार सञ्जय यादवको अगुवाइमा जानकी मन्दिर परिसरको जीर्ण फाउन्टेन हटाइयो
जनकपुरधाम, ०७ कार्तिक । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा लामो समयदेखि जीर्ण अवस्थामा रहेको वाटर फाउन्टेन हटाएर उक्त स्थानमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।
पत्रकार सञ्जय यादवको अगुवाइमा जीर्ण फाउन्टेन हटाउने कार्य गरिएको हो ।
वर्षौंदेखि बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको फाउन्टेनले मन्दिर परिसरको सौन्दर्यमा असर पारिरहेको भन्दै त्यसलाई हटाएर उक्त स्थानमा राष्ट्रिय झण्डा राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का र्यापिड एक्सन टिम विभाग प्रमुख अम्भु प्रसाद साहले जीर्ण फाउन्टेन हटाएर राष्ट्रिय झण्डा राखिएको जानकारी दिए ।
उनका अनुसार यस कार्यले जानकी मन्दिर परिसरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै राष्ट्रिय पहिचान र गौरवलाई सम्मान गर्ने उद्देश्य राखेको छ ।
मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको जानकी मन्दिरमा दैनिक ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक एवं श्रद्धालुहरू पुग्ने गर्छन् । यस्तो महत्त्वपूर्ण धार्मिकस्थलको परिसरलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउनु आवश्यक रहेको स्थानीयको धारणा छ ।
वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेका संरचनाको उचित व्यवस्थापन, नियमित सरसफाइ तथा मन्दिर परिसरको संरक्षण र सौन्दर्यीकरणमा सम्बन्धित निकायले समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ छ ।
राष्ट्रिय झण्डा राखिएसँगै जीर्ण फाउन्टेन रहेको स्थानले नयाँ स्वरूप पाएको छ ।
यद्यपि, जानकी मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई कायम राख्दै परिसरको समग्र व्यवस्थापन र संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको पत्रकार यादवले बताए ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




