‘मिथिलाको पहिचानमाथि आफ्नै सन्तानबाट प्रहार’
जनकपुरधाम, ०५ कार्तिक । जनकपुरधामको रंगमूमि मैदानमा जारी ‘जनकपुर सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८३’ प्रति वरिष्ठ गीतकार तथा साहित्यकार अशोक दत्तले असन्तुष्टि व्यक्त गरेका छन् ।
मिथिलाको मौलिक संस्कृति, कला, साहित्य र ऐतिहासिक पहिचानमाथि खेलवाड भइरहेको आशय व्यक्त गर्दै उनले महोत्सवका नाममा भइरहेको गतिविधिले सांस्कृतिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन् ।
दत्तले मैथिली भाषामा कविता लेख्दै महोत्सवका आयोजक तथा सांस्कृतिक गतिविधिप्रति व्यङ्ग्य गरेका छन् । उनको कवितामा सांस्कृतिक पहिचानको संरक्षण गर्नुपर्ने जिम्मेवारी बोकेका व्यक्तिहरू नै त्यसको मानमर्दनमा संलग्न भएको भन्दै असन्तुष्टि जनाइएको छ ।
दत्तले आर्थिक स्वार्थका लागि संस्कृतिसँग खेलवाड भइरहेको र यसको असर भावी पुस्ताको सांस्कृतिक चेतना तथा पहिचानमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
उनले आफ्नो कवितामा विगतको सम्मान र प्रतिष्ठालाई बिर्सेर गरिने गतिविधिले समाजलाई लज्जित बनाउने आशय प्रस्तुत गरेका छन् । खेल, कला, साहित्य र संस्कृति कुनै समय मिथिलाको प्रमुख पहिचान रहेको उल्लेख गर्दै दत्तले आज त्यही पहिचान आफ्नै सन्तानबाट कमजोर बनाउने काम भइरहेको टिप्पणी गरेका छन् ।
दत्तको कवितामा सांस्कृतिक विकृतिविरुद्ध आवाज उठाउनुपर्ने व्यक्तिहरू नै मौन बसेको प्रसङ्गसमेत समेटिएको छ । आपसी सम्बन्ध र आत्मीयता टुट्ने डरले विरोध गर्न नसकिएको अवस्थाप्रति उनले व्यङ्ग्य गरेका छन् ।
यसमार्फत उनले सांस्कृतिक सम्पदाको संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने अग्रज तथा अगुवाहरूको मौनतामाथि पनि प्रश्न उठाएका छन् ।
मिथिला भाषा, लोकगीत, नृत्य, नाट्यकला, साहित्य, चित्रकला र विविध सांस्कृतिक परम्पराका कारण विशिष्ट पहिचान बोकेको क्षेत्र हो । जनकपुरधामको धार्मिक तथा सांस्कृतिक महत्त्वले यस पहिचानलाई थप समृद्ध बनाएको छ ।
यस्तो अवस्थामा सांस्कृतिक महोत्सव आयोजना गर्दा स्थानीय कला, मौलिक परम्परा, भाषा र साहित्यको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने दत्तको भनाइ छ ।
व्यापारिक गतिविधिसँगै संस्कृति प्रवर्द्धन गर्ने लक्ष्य राखिएका कार्यक्रमले स्थानीय पहिचानलाई बलियो बनाउने काम गर्नुपर्ने उनको कविताको मूल आशय छ ।
मिथिलाको संस्कृति मनोरञ्जनको साधन मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सामाजिक र ऐतिहासिक सम्पदा हो ।
यसको संरक्षण र प्रवर्द्धनका नाममा आयोजना गरिने कार्यक्रमले मौलिक पहिचानलाई कति स्थान दिन्छन् भन्ने प्रश्न दत्तको कविताले उठाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



