आस्थाको धरोहर जानकी मन्दिर टिकटक बनाउने थलो हो?
जनकपुरधाम, ०५ कार्तिक । मिथिलाको धार्मिक आस्था, ऐतिहासिक विरासत र सांस्कृतिक पहिचान जनकपुरधामस्थित जानकी मन्दिरको छतमा हिन्दी गीतमा टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा राखिएको विषयले धार्मिक सम्पदाको मर्यादा र संरक्षणमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
खुशी साह नामकी युवतीले मन्दिरको छतमा ‘जो मेरि मञ्जिलो कों जाती है तेरे नाम की कोइ सडक है ना’ भन्ने हिन्दी गीतमा भडियो बनाएर सार्वजनिक गरेपछि पवित्र धार्मिक स्थललाई व्यक्तिगत प्रचार र सामाजिक सञ्जालको आकर्षणका लागि प्रयोग गर्ने प्रवृत्तिमाथि प्रश्न उठेको हो ।
भिडियोमा अंग्रेजी भाषामा ‘The only scared place where my life said let’s begin’ लेखिएको देखिन्छ । उक्त वाक्यको भावअनुसार जानकी मन्दिरलाई आफ्नो जीवनको नयाँ शुरुवातसँग जोडेर प्रस्तुत गरिएको बुझिन्छ । तर, जीवनको नयाँ शुरुवातको सन्देश दिन खोजिएको भए पनि त्यसका लागि रोजिएको स्थान र त्यसको धार्मिक महत्त्वलाई कसरी सम्मान गरिएको छ भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।
माता सीताको जन्मभूमिका रूपमा परिचित जनकपुरधामस्थित जानकी मन्दिर सामान्य पर्यटकीय गन्तव्य नभई यो लाखौँ श्रद्धालुको आस्था, मिथिला सभ्यताको गौरव र पुस्तौँदेखि जोगिँदै आएको ऐतिहासिक सम्पदा हो ।
यसको प्रत्येक संरचना र धार्मिक परम्परासँग स्थानीय समाजको भावनात्मक सम्बन्ध जोडिएको छ । यस्तो संवेदनशील स्थानमा गरिने गतिविधिले व्यक्तिगत अभिव्यक्तिमा मात्र सीमित नरही समाजको धार्मिक भावना र सांस्कृतिक चेतनालाई समेत प्रभावित गर्न सक्ने स्थानीय सुभाष कर्णको टिप्पणी छ ।
सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्ने होडमा ऐतिहासिक तथा धार्मिक स्थलको गरिमालाई गौण बनाउने प्रवृत्ति बढ्दै जानु चिन्ताको विषय रहेको उनले बताए ।
उनले भने, ‘धार्मिक स्थलमा भिडियो बनाउनु आफैँमा अनुचित नहुन सक्छ । तर, त्यस क्रममा मन्दिरको निर्धारित नियम, धार्मिक वातावरण र सम्पदाको सुरक्षालाई बेवास्ता गरिन्छ भने त्यसलाई सामान्य मनोरञ्जनका रूपमा मात्रै लिन मिल्दैन । मन्दिरको छतजस्तो संरचनामा गतिविधि गर्दा त्यसको सुरक्षा र प्रयोगसम्बन्धी नियम पालना गरिएको छ कि छैन भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।’
खुशी साहको भिडियोले जानकी मन्दिरको धार्मिक मर्यादा, ऐतिहासिक सम्पदाको उपयोग र सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारीबारे बहस आवश्यक बनाएको स्थानीय पुष्पा झाको तर्क छ ।
यस विषयमा जानकी मन्दिर व्यवस्थापन पक्षको भूमिका पनि महत्त्वपूर्ण छ । मन्दिर परिसर र छतमा तस्बिर तथा भिडियो खिच्न पाउने व्यवस्था के छ, त्यस्ता गतिविधिका लागि अनुमति आवश्यक पर्छ कि पर्दैन र ऐतिहासिक संरचनाको सुरक्षाका लागि कस्ता नियम लागू छन् भन्ने विषय सार्वजनिक गरिनुपर्नेमा उनको जोड छ ।
उनले भनिन्, ‘धार्मिक सम्पदा व्यक्तिगत प्रदर्शनको साधन नभई भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने साझा ऐतिहासिक धरोहर हो । जानकी मन्दिरलाई विश्वसामु चिनाउने नाममा यसको गरिमा र संरक्षणलाई ओझेलमा पार्न मिल्दैन । सामाजिक सञ्जालमा केही क्षणको आकर्षण प्राप्त गर्नुभन्दा हजारौँ वर्षको सभ्यता, आस्था र पहिचान बोकेको सम्पदाको सम्मान गर्नु महत्त्वपूर्ण छ ।’
जानकी मन्दिरमा टिकटक बनाइएको यो घटनाले एउटा गम्भीर प्रश्न छाडेको छ, ‘हामी आफ्ना ऐतिहासिक तथा धार्मिक सम्पदालाई सम्मान गर्दै विश्वसामु चिनाइरहेका छौँ कि सामाजिक सञ्जालको लोकप्रियताका लागि तिनको महत्त्वलाई नै गौण बनाइरहेका छौँ?’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



