पर्सा, ०५ कार्तिक । पर्सा जिल्लामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ वटा अपराधका घटना दर्ता भएका छन् ।

अपराध नियन्त्रण तथा अनुसन्धान अभियानका क्रममा प्रहरीले लागुऔषधसहित २४ जनालाई पक्राउ गर्नुका साथै भन्सार छली र राजस्व चुहावटबाट ल्याइएका ७५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दर्ता भएका घटनामध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी नौ, ज्यानसम्बन्धी आठ र बालबालिकासम्बन्धी छ घटना छन् । त्यस्तै, सवारी ज्यानसम्बन्धी दुई तथा अन्य प्रकृतिका चार घटना दर्ता भएका छन् ।

प्रहरीले विभिन्न चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । यस अवधिमा कर्तव्य ज्यानसम्बन्धी एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीसम्बन्धी एक घटना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

लागुऔषध नियन्त्रणतर्फ प्रहरीले १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरेको छ । अवैध रूपमा हुने कारोबार नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानका क्रममा उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

अवैध वन पैदावार नियन्त्रण अभियानमा पनि प्रहरीले सात जनालाई पक्राउ गरेको छ । उनीहरूबाट १४ वटा साइकल र ५४ घनफिट काठ बरामद गरिएको छ । वन पैदावारसम्बन्धी कसुरमा तीन लाख ११ हजार ६०० रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, जिल्लाभरि एक महिनाको अवधिमा ४० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । उक्त कारबाहीबाट १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

प्रहरीले अपराध नियन्त्रण, लागुऔषध ओसारपसार रोकथाम, भन्सार छली नियन्त्रण, अवैध वन पैदावारको कारोबार नियन्त्रण तथा ट्राफिक नियम कार्यान्वयनलाई प्राथमिकतामा राखेर कारबाही अघि बढाएको जनाएको छ ।