जनकपुरधाम, ०५ कार्तिक । मिथिलाको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको जनकपुरधाममा आयोजना हुने सांस्कृतिक कार्यक्रमको स्वरूप र त्यसमा स्थानीय कला तथा कलाकारको स्थानलाई लिएर मिथिला वाइल्डलाइफ ट्रस्टका सञ्चालक देवनारायण मण्डलले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

महोत्सवका नाममा रातभरि ध्वनि विस्तारक यन्त्र बजाउने, मनोरञ्जनलाई प्राथमिकता दिने र गरिब कलाकारको श्रम तथा रोजगारीलाई देखावटी रूपमा मात्र प्रस्तुत गर्ने प्रवृत्तिमाथि उनले कटाक्ष गरेका हुन् ।

मण्डलले सामाजिक सञ्जालमा मैथिली भाषाको शैलीमा प्रस्तुत गरेको टिप्पणीमा ‘लवण्डिया लन्डनसे लायेंगे, रातभरि डिजे बजायेंगे’ भन्ने गीतको सहारा लिँदै महोत्सवको नाममा हुने मनोरञ्जनमुखी गतिविधिप्रति व्यङ्ग्य गरेका छन् ।

उनले आफ्नो टिप्पणीमार्फत स्थानीय संस्कृति र कलाको प्रवर्द्धन गर्ने दाबी गरिएका कार्यक्रमको वास्तविक प्राथमिकतामाथि प्रश्न उठाएका छन् ।

उनले व्यङ्ग्यात्मक रूपमा महोत्सवमा हुने नृत्य हेर्ने दर्शकलाई विभिन्न समूहमा विभाजन गरेका छन् । पहिलो नृत्य माननीयहरूले हेर्ने, दोस्रो नृत्य आयोजक, युवा तथा समाजका अगुवा भनिनेहरूले हेर्ने र तेस्रो नृत्य चन्दा दिने व्यक्तिहरूले सपरिवार हेर्ने उनको टिप्पणी छ ।

उनले महोत्सवको व्यवस्थापन, सामाजिक प्रतिष्ठा र आर्थिक सहयोगसँग जोडिएको मनोरञ्जनको प्रवृत्तिमाथि कटाक्ष गरेका छन् ।

उनले मनोरञ्जनका लागि आयोजना गरिने कार्यक्रमले कलाकारलाई रोजगारी सिर्जना गर्ने दाबी गरे पनि त्यसको वास्तविक लाभ कसले पाउँछ भन्ने प्रश्न उठाएका छन् । कलाकारको श्रम र जीविकोपार्जनलाई प्राथमिकता दिनुको सट्टा कार्यक्रमको आकर्षण, पहुँचवाला व्यक्तिको उपस्थिति र आर्थिक स्वार्थलाई महत्त्व दिइने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले आफ्नो टिप्पणीमा ‘५२ कुट्टी, ७२ कुण्ड, लवण्डिया नचाउने झुण्ड’ भन्ने व्यङ्ग्यात्मक अभिव्यक्ति प्रयोग गरेका छन् ।

जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका स्थल र परम्पराको प्रसङ्गलाई मनोरञ्जनमुखी कार्यक्रमसँग जोडेर प्रस्तुत गरिएको यस अभिव्यक्तिले सांस्कृतिक सम्पदाको सम्मान र प्रयोगबारे बहस सिर्जना गर्न आवश्यक रहेको उनको धारणा छ ।

मण्डलले भने, ‘मिथिला लोकगीत, लोकनृत्य, नाट्यकला, चित्रकला, साहित्य र परम्परागत सांस्कृतिक अभ्यासका कारण विशिष्ट पहिचान बोकेको क्षेत्र हो । यहाँका कलाकारले पुस्तौँदेखि भाषा, भेषभूषा, सङ्गीत र परम्परालाई जीवित राख्न योगदान दिँदै आएका छन् । तर, आधुनिक मनोरञ्जनका नाममा मौलिक कला ओझेलमा पर्ने र स्थानीय कलाकारले पर्याप्त अवसर नपाउने अवस्था सिर्जना भएमा त्यसले सांस्कृतिक निरन्तरतामै असर पार्न सक्छ ।’

यस्ता कार्यक्रमले स्थानीय कलाकारलाई उचित पारिश्रमिक, रोजगारी र प्रस्तुति दिने अवसर प्रदान गर्नुपर्ने तथा मिथिलाको मौलिक पहिचानलाई संरक्षण गर्नुपर्ने आफ्नो व्यङ्ग्यको मूल आशय रहेको उनले बताए ।

‘सांस्कृतिक कार्यक्रम आयोजना गर्नु आफैँमा समस्या होइन,’ उनले भने, ‘तर, संस्कृति प्रवर्द्धनको नाममा हुने गतिविधिले स्थानीय समाजको आस्था, ऐतिहासिक सम्पदा र मौलिक परम्परालाई कति सम्मान गर्छन् भन्ने प्रश्न महत्त्वपूर्ण छ । मनोरञ्जन र व्यापारसँगै सांस्कृतिक उत्तरदायित्व तथा कलाकारको सम्मानलाई पनि महोत्सवको अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकता छ ।’