जनकपुरधाम, ०५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा उपाधि जितेर इतिहास बनाएको जनकपुर बोल्ट्स दोस्रो संस्करणमा भने निराशाजनक प्रदर्शन गर्दै अन्तिम स्थानमा सीमित भयो । एक खेलमा मात्र जित निकालेको जनकपुरले तेस्रो संस्करणका लागि टोलीको संरचना, नेतृत्व र खेलाडी छनोटमा व्यापक परिवर्तन गर्दै पुनरागमनको तयारी थालेको छ ।

पहिलो संस्करणको च्याम्पियन टोलीले दोस्रो संस्करणमा भोगेको असफलतापछि यसपटक खेलाडी छनोटदेखि कप्तानीसम्म नयाँ रणनीति अपनाएको छ ।

टोलीले राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर तथा पहिलो संस्करणका मार्की खेलाडी आसिफ शेखलाई रिलिज गर्दै स्पिनर ललित राजवंशीलाई नयाँ मार्की खेलाडी बनाएको छ । त्यस्तै, अमेरिकाका स्पिन बलिङ अलराउन्डर हर्मीत सिंहलाई कप्तान नियुक्त गरेको छ ।

जनकपुर बोल्ट्सको विशेषता सुरुदेखि नै मार्की खेलाडी र कप्तानको भूमिकालाई अलग राख्नु रहँदै आएको छ । पहिलो संस्करणमा आसिफ शेख मार्की खेलाडी भए पनि अनिल शाहले कप्तानी गरेका थिए । तेस्रो संस्करणमा पनि टोलीले मार्की खेलाडी ललित राजवंशीलाई कप्तान नबनाई हर्मीतलाई नेतृत्व सुम्पिएको छ ।

पहिलो संस्करणमा जनकपुरले लिग चरणमा दोस्रो स्थान हासिल गरेको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउँदै फाइनल पुगेको टोलीले निर्णायक खेलमा सुदूरपश्चिमलाई नै पराजित गरेर उपाधि जितेको थियो । तर, दोस्रो संस्करणमा त्यही टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । कमजोर नतिजापछि कप्तानी परिवर्तनदेखि खेलाडीलाई बेन्चमा राख्नेसम्मका निर्णय गरिएको थियो ।

घरेलु खेलाडीमा व्यापक फेरबदल
जनकपुरले तेस्रो संस्करणका लागि पाँच खेलाडीलाई निरन्तरता दिएको छ । अनिल कुमार शाह, ललित राजवंशी, मयन यादव, विकास आग्री र आदित्य महता टोलीमा कायम छन् । अघिल्लो संस्करणमा सात खेलाडीलाई निरन्तरता दिएको जनकपुरले यसपटक भने टोलीको संरचना थप परिवर्तन गरेको छ ।

आसिफ शेखसँगै किशोर महतो, रुपेश सिंह र शुभ कंसाकारलगायत खेलाडीलाई टोलीबाट रिलिज गरिएको छ । पहिलो संस्करणको उपाधिपछि युवा बलर शेर मल्ल र हेमन्त धामीलाई रिलिज गर्ने जनकपुरको निर्णय पनि चर्चामा आएको थियो । शेरले दोस्रो संस्करणमा लुम्बिनीबाट खेल्दै उपाधि जिते भने हेमन्तले सुदूरपश्चिमबाट खेलेर राम्रो प्रदर्शन गरेका थिए ।

तेस्रो संस्करणका लागि जनकपुरले खेलाडी छनोटमा ब्याटिङतर्फ बढी जोड दिएको देखिन्छ । टोलीले खेलाडी लिलामीबाट आठ खेलाडी अनुबन्ध गरेको छ । तृतराज दासलाई १५ लाख रुपैयाँमा भित्र्याएको जनकपुरले अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेला, रित गौतम, सन्तोष कार्की, आशुतोष पाण्डे र विशाल सुस्लिङलाई पनि टोलीमा समेटेको छ ।

विकेटकिपर आसिफ शेखको बहिर्गमनपछि अनिल शाहले उक्त जिम्मेवारी सम्हाल्ने सम्भावना छ । सन्तोष कार्की पनि विकेटकिपरका रूपमा विकल्प बन्न सक्छन् । तर, अन्तिम खेल संयोजनमा उनले कति अवसर पाउँछन् भन्ने कुरा टोलीको रणनीति र प्रदर्शनमा निर्भर हुनेछ ।

विदेशी खेलाडीमा अनुभव र क्षमताको मिश्रण
घरेलु खेलाडीमा फेरबदल गरेको जनकपुरले विदेशी खेलाडी छनोटमा भने अनुभव र बहुआयामिक क्षमतालाई प्राथमिकता दिएको छ । टोलीले हालसम्म हर्मीत सिंह, जिमी नीशम, मोइन अली र इफ्तिखार अहमदलाई अनुबन्ध गरेको छ ।

अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेलेका हर्मीतलाई कप्तान बनाउनु जनकपुरको महत्त्वपूर्ण निर्णय हो । स्पिन बलिङसँगै ब्याटिङ गर्न सक्ने उनी टोलीका लागि उपयोगी अलराउन्डर मानिन्छन् । पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन योगदान दिएका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमको पुनरागमनले पनि टोलीको बलिङ र ब्याटिङ दुवै पक्षलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

इङ्ल्यान्डका अनुभवी स्पिन अलराउन्डर मोइन अली र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदको आगमनले जनकपुरको मध्यक्रमलाई अनुभव थप्नेछ । मोइनको स्पिन बलिङ र ब्याटिङ क्षमता तथा इफ्तिखारको मध्यक्रममा रन बनाउन सक्ने क्षमताले टोलीलाई विभिन्न खेल परिस्थितिमा विकल्प उपलब्ध गराउन सक्छ ।

चार विदेशी खेलाडीमध्ये हर्मीत, नीशम र मोइन अलराउन्डर हुन् । यसले ब्याटिङ र बलिङ दुवैतर्फ खेलाडीको उपयोगिता बढाउन सक्छ । तर, विदेशी खेलाडीको अनुभवलाई मैदानमा प्रभावकारी प्रदर्शनमा रूपान्तरण गर्नु टोलीका लागि मुख्य चुनौती हुनेछ ।

स्पिन बलियो, तीव्र बलिङमा चुनौती
जनकपुरको टोली संरचना हेर्दा स्पिन बलिङ तुलनात्मक रूपमा बलियो देखिन्छ । नयाँ मार्की खेलाडी ललित राजवंशी, आदित्य महता, हर्मीत सिंह र मोइन अलीको उपस्थितिले टोलीलाई स्पिनका विभिन्न विकल्प दिएको छ । ब्याटिङमा अनिल शाह, मयन यादव, तृतराज दास, रित गौतम तथा विदेशी खेलाडीको विकल्प उपलब्ध छन् ।

तर, तीव्र बलिङ जनकपुरको कमजोर पक्ष बन्न सक्ने देखिन्छ । टोलीले मुख्य तीव्र बलरका रूपमा भर पर्न सकिने नेपाली खेलाडीको अभाव महसुस गर्न सक्छ । विकास आग्री र अमरसिंह रौटेला तीव्र बलिङ गर्ने अलराउन्डर भए पनि उनीहरूलाई मुख्य बलरका रूपमा कति प्रभावकारी ढङ्गले प्रयोग गर्न सकिन्छ भन्ने प्रश्न बाँकी छ । नीशमको मध्यम गतिका बलिङले सहयोग गरे पनि विपक्षीको बलियो ब्याटिङ क्रमविरुद्ध विशेषज्ञ तीव्र बलरको आवश्यकता पर्न सक्छ ।

त्यसैले जनकपुरले बाँकी विदेशी खेलाडी अनुबन्ध गर्दा तीव्र बलिङलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । टोलीसँग ब्याटिङ र स्पिनका पर्याप्त विकल्प भए पनि नयाँ सिजनमा बलिङको सन्तुलन कायम गर्न नसके उपाधि यात्रामा कठिनाइ हुन सक्छ ।

चन्द्रपलको प्रशिक्षणमा पुनरागमनको लक्ष्य
जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा शिवनाराइन चन्द्रपल र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । अनुभवी विदेशी खेलाडी, नयाँ कप्तान र परिवर्तन गरिएको घरेलु खेलाडीको संयोजनलाई प्रभावकारी टोलीमा रूपान्तरण गर्नु प्रशिक्षक समूहका लागि महत्त्वपूर्ण जिम्मेवारी हुनेछ ।

पहिलो संस्करणको उपाधि र दोस्रो संस्करणको अन्तिम स्थानबीचको ठूलो अन्तरले जनकपुरलाई तेस्रो संस्करणमा नतिजा सुधार्न दबाब दिएको छ ।

यसपटक टोलीले खेलाडी छनोट र नेतृत्वमा परिवर्तन गर्दै नयाँ शुरुवात गर्न खोजेको छ । तर, नाम चलेका खेलाडीको उपस्थिति मात्रै उपाधिको आधार बन्न सक्दैन । खेलाडीबीचको तालमेल, कप्तानको निर्णय क्षमता, तीव्र बलिङको प्रभावकारिता र दबाबपूर्ण अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमताले जनकपुरको वास्तविक स्तर निर्धारण गर्नेछ ।

पहिलो संस्करणमा उपाधि जितेको जनकपुरले तेस्रो संस्करणमा फेरि प्रतिस्पर्धी टोलीका रूपमा आफूलाई स्थापित गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर मैदानमै खोजिनेछ ।