–ज्योति झा
जनकपुरधाम, ०३ कार्तिक ।
संस्कृतिको धरातलका रूपमा चिनिने मिथिला र मैथिल सभ्यताको ऐतिहासिक पहिचान बोकेको जनकपुरधाम आज आफ्नै सांस्कृतिक अस्तित्वमाथि प्रश्न उठाउनुपर्ने अवस्थामा पुग्दैछ । कुनै समय मिथिलाको संस्कृति, परम्परा, भाषा, धर्म र संस्कारको प्रतिनिधित्व गर्ने जनकपुरधाम आज सामाजिक सञ्जालका टिकटक र रिलमा ‘मिथिलानी’ बन्ने नारासम्म सीमित हुँदै गएको त होइन?

खुसी मनाउनु, रमाउनु र उत्सवमा सहभागी हुनु सबैको अधिकार हो । नयाँ पुस्ताले आफ्नो तरिकाले खुसी मनाउनु पनि अस्वभाविक होइन । तर, जब संस्कृति, परम्परा र धर्मको कुरा आउँछ, तब भाषणमा एउटा कुरा गर्ने र वास्तविक जीवनमा त्यसको ठीक विपरीत व्यवहार देखाउने प्रवृत्ति शोभनीय हुन सक्दैन । आधुनिकताको नाममा आफ्नो पहिचान नै बिर्सनु कस्तो प्रगति हो?

अरूको संस्कृति र परम्पराको सम्मान गर्नुपर्छ । अरूसँग मिलेर उत्सव मनाउनु पनि राम्रो कुरा हो । तर, आफ्नै संस्कारबारे जानकारी नहुने, आफ्नै परम्परा नचिन्ने र आफ्नै कुलदेवीबारे सामान्य ज्ञानसमेत नराख्ने अनि अरूको संस्कृतिको नक्कल गर्नचाहिँ तँछाडमछाड गर्ने प्रवृत्तिले कस्तो सांस्कृतिक चेतना बोकेको छ? आफ्नै घरको जग कमजोर राखेर अरूको महलको नक्कल गर्नुले पहिचान बलियो हुँदैन ।

अंग्रेजीको ‘एबीसीडी’ समेत नजानेको विद्यार्थीले मेजर सब्जेक्टचाहिँ अंग्रेजी नै पढ्न खोजेजस्तो भएको छ हाम्रो सांस्कृतिक चेतना! आफ्नै संस्कृतिको आधारभूत ज्ञान छैन । तर, आधुनिकताको प्रदर्शनमा भने सबैभन्दा अगाडि देखिनुपर्ने । प्रश्न आधुनिकताको विरोध नभई आफ्नो जरा बिर्सेर गरिने आधुनिकताको अन्धनक्कल हो ।

झिझिया हाम्रो सांस्कृतिक परम्परा हो, कुनै डिस्को पार्टी होइन । तर, आज झिझियामा परम्पराभन्दा आधुनिकताको प्रभाव हाबी हुँदै गएको देखिन्छ । झिझियाको मौलिकता र सांस्कृतिक भावनाभन्दा आरकेस्ट्राको प्रभाव बढी देखिन थालेको गुनासो सुनिन्छ । झिझियाको परम्परा र यसको महत्त्व बुझाउनुपर्ने ठाउँमा नयाँ नयाँ शैलीको प्रदर्शनले प्राथमिकता पाउन थालेको छ । झिझियाको आफ्नै मौलिकता हुँदाहुँदै पनि त्यसलाई किन अरूको शैलीमा ढाल्नुपर्ने?

झिझियाको परम्परा बुझ्न नपाउँदै डान्डिया भित्रिनु, आफ्नो सांस्कृतिक सम्पदालाई जोगाउनेभन्दा अरूको शैली अपनाउन प्रतिस्पर्धा गर्नु र मनोरञ्जनको नाममा मर्यादाका सीमासमेत बिर्सनु कस्तो सांस्कृतिक विकास हो? डान्डिया नराम्रो हो भन्ने होइन, अरूको संस्कृति अपनाउनु गलत हो भन्ने पनि होइन । तर, आफ्नो परम्पराको पहिचान र महत्त्व नै नबुझी अरूको नक्कल गर्नुलाई सांस्कृतिक समृद्धि भन्न सकिँदैन ।

मिथिलाञ्चलमा कुनै समय फूल, धूप, दीप र ताम्बूलको सुगन्धले धार्मिक तथा सांस्कृतिक वातावरणलाई जीवन्त बनाउँथ्यो । आज कतिपय उत्सवस्थलमा त्यही वातावरणसँगै परफ्युम, चुरोट, पुडिया र मदिराको गन्ध मिसिन थालेको देखिन्छ । धार्मिक आस्थासँग जोडिएका उत्सवहरूमा मनोरञ्जनको नाममा यस्ता गतिविधि बढ्दै जानु चिन्ताको विषय होइन र?

संस्कृति जोगाउने नाममा संस्कृति नै हराउँदै जानु विडम्बना हो । मलाई आज पनि सम्झना छ, बाल्यकालमा दुईवटा लट्ठी एकआपसमा बजाउँदासमेत घरमा गाली सुनिन्थ्यो—‘यस्तो गर्नु हुँदैन’ त्यसबेला घरपरिवारले संस्कार, मर्यादा र व्यवहारको सीमाबारे सिकाउँथे । आज समय बदलिएको छ, प्रविधि बदलिएको छ र पुस्ता पनि बदलिएको छ । तर, के बदलिएको समयसँगै संस्कार र जिम्मेवारीको अर्थ पनि बदलिनुपर्छ?

पहिले आमाबुवाको गालीमा पनि सन्तानको भविष्यप्रतिको चिन्ता हुन्थ्यो । आज कतिपय परिवारमा आमाबुवालाई नै थर्काउने, उनीहरूको कुरा नसुन्ने र अनुशासनलाई पुरानो सोच ठान्ने प्रवृत्ति देखिन्छ । नयाँ पुस्ताका सबैलाई एउटै डालोमा राख्न मिल्दैन । तर, बढ्दो सामाजिक तथा सांस्कृतिक विचलनमाथि प्रश्न उठाउनु आवश्यक छ ।

पहिले कसैको व्यक्तिगत तस्बिर गलत तरिकाले सार्वजनिक हुँदा मानिसहरू लज्जित हुन्थे र आफ्नो गोपनीयताको चिन्ता गर्थे । आज सामाजिक सञ्जालमा चर्चित हुने होडमा कतिपय मानिस आफ्नै गोपनीयता र मर्यादाको ख्याल नगरी जे पनि सार्वजनिक गर्न तयार देखिन्छन् । लाइक, भ्युज र फलोअर्सको मोहले मानिसलाई आफ्नो प्रतिष्ठा र आत्मसम्मानभन्दा डिजिटल लोकप्रियता ठूलो लाग्ने अवस्थामा पुर्याउँदै छ ।

सामाजिक सञ्जाल आफैँमा खराब होइन । यसले प्रतिभा देखाउने, ज्ञान बाँड्ने र संस्कृतिको प्रचार गर्ने अवसर दिएको छ । तर, यसको प्रयोग विवेकभन्दा प्रदर्शनका लागि हुन थाल्यो भने यही माध्यम हाम्रो भाषा, संस्कृति, पारिवारिक सम्बन्ध र सामाजिक मर्यादामाथि चुनौती बन्न सक्छ ।

आजको विडम्बना के हो भने हामी संस्कृतिको संरक्षणको कुरा गर्छौँ । तर, त्यसलाई व्यवहारमा उतार्न बिर्सन्छौँ । मैले अझ एउटा कुरा गर्दा धेरैलाई नराम्रो लाग्न सक्छ, कतिपयलाई पचाउन पनि गाह्रो होला । तर, एकपटक गम्भीर भएर सोच्नुस् त!

अहिले फेसबुक, टिकटक र रिल्समा तपाईंहरूले प्रायः खोइँछ भरेका, भगवानलाई ढोगेका र पूजापाठ गरेका भिडियोहरू देख्नुभएकै होला । प्रश्न उठ्छ—के भगवानलाई ढोग्दा पनि हाम्रो ध्यान भिडियो खिच्नमै केन्द्रित हुनुपर्छ?

भगवानको अगाडि नतमस्तक हुँदा मानिसले केही क्षणका लागि भए पनि आफूलाई, आफ्नो अहङ्कारलाई र संसारको मोहलाई बिर्सेर श्रद्धामा लीन हुनुपर्ने हो । तर, आजकल कतिपय अवस्थामा भगवानभन्दा क्यामेरा महत्त्वपूर्ण देखिन्छ, भक्तिभन्दा भिडियो र आस्थाभन्दा सामाजिक सञ्जालमा आफूले गरेको काम देखाउने चाहना ठूलो देखिन्छ ।

खुसी मनाउनुस्, रमाइलो गर्नुस्, मस्ती गर्नुस् । आफ्नो इच्छाअनुसार जे गर्न मन लाग्छ, गर्नुस् । कसैको खुसीमा प्रश्न उठाउनु मेरो उद्देश्य होइन । तर, जब हाम्रो संस्कारभन्दा देखावा हावी हुन थाल्छ, तब प्रश्न उठाउनु आवश्यक हुन्छ । संस्कार आत्मसात् गर्ने कुरा हो । प्रदर्शन गर्ने वस्तु होइन । आस्था मनमा हुन्छ, क्यामेरामा होइन ।

समय बदलिन सक्छ, प्रविधि बदलिन सक्छ र पूजा गर्ने शैली पनि बदलिन सक्छ । तर, एउटा कुरा सम्झनुपर्छ—देखावा कहिल्यै संस्कार हुन सक्दैन, अनि सामाजिक सञ्जालमा देखाइएको भक्तिले मात्र कसैको आस्थाको गहिराइ मापन गर्न सकिँदैन ।

हामी देवीदेवताको जयजयकार गर्छौँ । तर, आफ्नै परम्पराको मर्म बुझ्न समय निकाल्दैनौँ । हामी मिथिलानी हुनुमा गर्व गर्छौँ । तर, मिथिलाको मौलिक पहिचान जोगाउने जिम्मेवारीबाट पन्छिन्छौँ । आधुनिक हुनु गलत होइन । तर, आधुनिकताको नाममा आफ्नो पहिचान गुमाउनु गलत हो ।

अरूको संस्कृतिको सम्मान गरौँ । तर, आफ्नो संस्कृतिलाई कमजोर ठानेर होइन । नयाँ पुस्तालाई रोक्ने होइन, सही दिशा देखाउने काम गरौँ । मनोरञ्जन गरौँ । तर, मर्यादा नबिर्सौँ । प्रविधि अपनाऔँ । तर, विवेकलाई नत्यागौँ । नत्र भोलि हामीसँग टिकटकमा देखाउन मिल्ने मिथिलानीको पहिचान त होला तर वास्तविक जीवनमा जोगाउनुपर्ने मिथिलाको संस्कृति नै बाँकी नरहन सक्छ ।