जनकपुरधाम, ३० असोज । अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै महोत्तरीमा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरप्रसाद साह मधेश प्रदेशकै उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन् ।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक साहलाई उत्कृष्ट प्रहरीको सम्मान प्रदान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा शाखामा कार्यरत साहले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा देखाएको सक्रियता र व्यावसायिक कार्यसम्पादनका आधारमा उक्त सम्मान प्राप्त गरेका हुन् ।

अपराध नियन्त्रण, विभिन्न घटनाको अनुसन्धान तथा जिल्लामा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उनले पुर्याएको योगदानको कदर गर्दै प्रदेशकै उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जनाइएको छ ।

प्रहरी कर्मचारीको जिम्मेवारी, कार्यक्षमता र व्यावसायिक योगदानको मूल्याङ्कन गर्दै प्रदान गरिने यस्तो सम्मानले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा बढाउनुका साथै सेवाप्रति थप प्रतिबद्ध हुन प्रेरित गर्ने विश्वास गरिएको छ ।

प्रदेशकै उत्कृष्ट प्रहरीका रूपमा साह सम्मानित भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका लागि पनि यो उपलब्धिका रूपमा लिइएको छ ।