जनकपुरधाम, २९ असोज । मिथिलाको मौलिक लोकसंस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको झिझिया नृत्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार जनकपुरधाममा ‘जनकपुर झिझिया महोत्सव–२०८३’ आयोजना हुन लागेको छ ।

नव मिथिला फाउण्डेशनको आयोजनामा जनकपुरधामस्थित रेल्वे स्टेसनको प्राङ्गणमा शुक्रबार साँझ ५ बजेदेखि महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

विजयादशमीको अवसरमा आयोजना हुन लागेको महोत्सवमा विभिन्न झिझिया समूह, विद्यालय, सांस्कृतिक टोली तथा स्थानीय कलाकारहरूको सहभागिता रहनेछ ।

महोत्सवमा कल्चर भिलेज झिझिया ग्रुप, विस्डम ट्री स्कुल, भोइल झिझिया ग्रुप, अप्पन मिथिला झिझिया समूह, मिथिला झिझिया समूह, जनकपुरियान युथ ब्यान्ड टिम, ललित कामत एन्ड टिम, नर्मदा स्कुल, युरेका इन्टरनेसनल स्कुल, जनकपुर पब्लिक स्कुल, अञ्जली साह तथा रंग दर्पणलगायतले सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम छ ।

मिथिलाको सांस्कृतिक पहिचानका रूपमा रहेको झिझिया नृत्यको मौलिकता जोगाउँदै नयाँ पुस्तासम्म यसको महत्त्व पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको नव मिथिला फाउण्डेशनका अध्यक्ष अमित साहले बताए ।

महोत्सवले स्थानीय कलाकार तथा सांस्कृतिक समूहलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवापुस्तामा मौलिक लोकसंस्कृतिप्रति रुचि बढाउने विश्वास गरिएको छ ।

झिझिया नृत्य मिथिलाको धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको लोकपरम्परा हो ।

आधुनिकताको प्रभावसँगै मौलिक सांस्कृतिक अभ्यासहरू ओझेलमा पर्न सक्ने अवस्थामा यस्ता कार्यक्रमले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

महोत्सवमार्फत जनकपुरधामको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसमेत राखिएको छ ।

साथै, विभिन्न समुदाय, पुस्ता र सांस्कृतिक समूहबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अभिवृद्धि हुने विश्वास गरिएको छ ।

नव मिथिला फाउण्डेशनले महोत्सवमा सहभागी भई मिथिलाको मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा साथ दिन संस्कृतिप्रेमी, विद्यार्थी, युवा, अभिभावक, बुद्धिजीवी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

आयोजकका अनुसार महोत्सवमा प्रवेश निःशुल्क रहनेछ ।