जनकपुरधाम, २९ असोज । धनुषामा चाडपर्वका नाममा सामाजिक तथा धार्मिक सद्भाव बिगार्ने गतिविधि गर्नेमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने भएको छ ।

धार्मिक सद्भाव समन्वय समिति धनुषाको बैठकले वडादशैँ, दीपावली र छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित तथा आपसी सद्भाव अभिवृद्धि हुने गरी मनाउने निर्णय गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा शान्ति सुरक्षा, अमनचयन र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

बैठकले चाडपर्व, मेला तथा धार्मिक र्‍यालीमा ध्वनि प्रदूषण हुने गरी चर्को आवाजमा डिजे बाजा प्रयोग नगर्नसमेत आग्रह गरेको छ ।

धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दा अरूको आस्था, विश्वास र सामाजिक मर्यादाको सम्मान गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार जिल्लामा नागरिकबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकले चाडपर्वको समयमा शान्ति सुरक्षा सुदृढ बनाउन तयार गरिएको चाडपर्वलक्षित एकीकृत सुरक्षा योजना २०८३ कार्यान्वयन गर्ने निर्णयप्रति पनि समर्थन जनाएको छ ।

बैठकमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका पदाधिकारी, सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता थियो ।

विगतका वर्षहरूमा केही पक्षबाट परम्परादेखि कायम रहेको सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि हुने गरेको पाइएकाले यस वर्ष समयमै बैठक आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिए ।

चाडपर्वलाई शान्तिपूर्ण र सद्भावपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय, धार्मिक अगुवा, राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीसहित सबै पक्षबीच समन्वय आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ ।