रेडक्रस धनुषामा ६९ युनिट रगत मौज्दात
जनकपुरधाम, २८ असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधामको रक्तसञ्चार सेवामा असोज २४ गतेसम्म विभिन्न समूहका गरी कुल ६९ युनिट रगत मौज्दात रहेको छ ।
शाखाको रक्त भण्डार विवरणअनुसार ५९ युनिट होल ब्लड र १० युनिट प्याक्ड रेड ब्लड सेल्स (पीआरबीसी) मौज्दात रहेको छ ।
मौज्दात रगतमा ओ पोजेटिभ (O+) समूहको सबैभन्दा बढी ३५ युनिट होल ब्लड रहेको छ ।
त्यसैगरी, ए पोजेटिभ (A+) समूहको १५ युनिट होल ब्लड र ४ युनिट पीआरबीसी, बी पोजेटिभ (B+) समूहको ३ युनिट होल ब्लड र ४ युनिट पीआरबीसी मौज्दात रहेको छ ।
एबी पोजेटिभ (AB+) समूहको २ युनिट, बी नेगेटिभ (B-) समूहको १ युनिट, ओ नेगेटिभ (O-) समूहको २ युनिट र एबी नेगेटिभ (AB-) समूहको १ युनिट रगतसमेत मौज्दात रहेको विवरणमा उल्लेख छ ।
रक्तसञ्चार सेवामा रगतको मागलाई सहज रूपमा सम्बोधन गर्न नियमित रक्तदान आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाका सभापति पंकजकुमार महतोले बताए ।
सभापति महतोका अनुसार दुर्घटना, शल्यक्रिया, प्रसूति सेवा तथा विभिन्न रोगको उपचारका क्रममा बिरामीलाई तत्काल रगत आवश्यक पर्न सक्छ ।
यस्तो अवस्थामा रगतको अभाव हुन नदिन स्वस्थ व्यक्तिहरूले नियमित रूपमा रक्तदान गर्नुपर्ने उनको भनाइ छ ।
उनले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र युवाहरूलाई यस अभियानमा सहभागी गराउन आवश्यक रहेको बताए ।
एक युनिट रगतले पनि आवश्यक परेको व्यक्तिको जीवन बचाउन सहयोग पुग्ने भएकाले सबैलाई रक्तदानका लागि प्रेरित गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाले आवश्यकताअनुसार रक्तसञ्चार सेवा उपलब्ध गराउँदै आएको छ ।
रक्तदान गर्न इच्छुक व्यक्ति तथा संस्थालाई यस अभियानमा सहभागी हुन शाखाले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




