जनकपुरधाम, २८ असोज । धनुषाको धनौजी गाउँपालिकामा २३३ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाउने भएका छन् ।

गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया गाविसका वडा नम्बर १ देखि ९ सम्मका जग्गाधनीलाई बिहीबार पुर्जा वितरण गर्न लागिएको हो ।

सम्बन्धित क्षेत्रको जग्गा २०७२ सालमा नापी गरिएको थियो । नापी भएको लामो समयपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न लागेपछि स्थानीय बासिन्दाले आफ्नो जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने अवसर पाउनेछन् ।

पुर्जा वितरणसम्बन्धी तयारीबारे कार्यालय प्रमुख उमेश कुमारले जग्गाधनीलाई आफ्नो सम्पत्तिको कानुनी अधिकार सुनिश्चित गर्न जग्गाधनी प्रमाणपुर्जा महत्त्वपूर्ण हुने बताए ।

उनले पुर्जा वितरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउँदै योग्य जग्गाधनीसम्म प्रमाणपुर्जा पुर्‍याउनु कार्यालयको प्राथमिकता रहेको उल्लेख गरे ।

जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि स्थानीयले आफ्नो जग्गाको स्वामित्वसम्बन्धी प्रमाण सुरक्षित राख्न तथा आवश्यक कानुनी र प्रशासनिक कामकाज गर्न सहज हुनेछ ।

बिहीबार धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया गाविसका वडा नम्बर १ देखि ९ सम्मका गरी कुल २३३ जग्गाधनीलाई पुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ ।