जनकपुरधाम, २८ असोज । सामाजिक सञ्जाल टिकटकमा हिंसा फैलाउन उक्साउने, गालीगलौज गर्ने तथा विभिन्न व्यक्ति, समुदाय र संगठनलाई लक्षित गरी आपत्तिजनक अभिव्यक्ति र धाकधम्कीपूर्ण भिडियो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनिया गाउँपालिका–१ निवासी अन्दाजी २० वर्षीय राजु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सामाजिक सञ्जालमा क्रियाकलापका कारण ‘क्रिमिनल’ नामले चिनिने यादवलाई प्रहरीले असोज २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार यादवले सामाजिक सञ्जाल टिकटकमार्फत समाजमा हिंसा फैलाउन प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच पुग्ने गरी गालीगलौज गर्ने, आपत्तिजनक शब्द प्रयोग गर्ने तथा धाकधम्की दिने प्रकृतिका भिडियोहरू पोस्ट गरेको पाइएको छ ।

दवमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसैबीच, सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउन उक्साउने, गालीगलौज गर्ने तथा व्यक्ति, समुदाय र संगठनलाई लक्षित गरी आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा अन्य चार जनामाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले सामाजिक सञ्जालमार्फत आपत्तिजनक सामग्री पोस्ट गर्ने व्यक्तिहरूमाथि अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जानकारी दिएका छन् ।