सिरहा, २८ असोज । प्रतिबन्धित लागुऔषध गाँजा मुद्दामा फरार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरीस्थित सुरुङ्गा नगर सभापति मोहम्मद साबिर अली पक्राउ परेका छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका–५ निवासी ४७ वर्षीय अलीलाई बुधबार बिहान सिरहा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार रास्वपाको सुरुङ्गा नगरपालिकास्थित कदमाहा पार्टी कार्यालयबाट उनलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय लहानको टोलीले सप्तरीको भेडिया इलाका प्रहरी कार्यालयको सहयोगमा अलीलाई पक्राउ गरेको डीएसपी पालले जानकारी दिए ।

प्रहरीका अनुसार २०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलोग्राम गाँजा बरामद भएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट दक्षिणतर्फ राजमार्ग पार गर्न लागेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि कार छाडेर चालक फरार भएपछि प्रहरीले खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको गाँजा बरामद गरेको जनाएको छ ।

सोही घटनासम्बन्धी लागुऔषध मुद्दामा अली फरार प्रतिवादी रहेको र उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।