सिरहा, २८ असोज । थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सिरहाको लहानमा १५ दिने दशैं तिहार उत्सव मेला सुरु भएको छ ।

थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति सिरहाको आयोजनामा सुरु भएको मेलामा थारू समुदायका मौलिक भेषभूषा, परम्परागत कला, सांस्कृतिक सामग्री तथा लोपोन्मुख परम्पराको प्रदर्शन गरिएको छ ।

मेलाले थारू समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै नयाँ पुस्तामा मौलिक परम्परा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

मेलाको उद्घाटन गर्दै लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले थारू समुदायको मौलिकता र पहिचान संरक्षणमा यस्ता उत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले समुदायको परम्परागत खानपान, रहनसहन र संस्कृतिलाई संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउन उत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

मेलामा थारू समुदायका परम्परागत धुमरा नाच, सखी नाच, झिझिया नाचलगायत सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । मौलिक कला तथा नृत्य प्रदर्शन गर्ने टोलीलाई प्रोत्साहन गर्न प्रतियोगितासमेत आयोजना गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

१५ दिनसम्म सञ्चालन हुने मेलामा थारू समुदायका परम्परागत नाचगानका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिसमेत रहनेछ ।

आधुनिकताको प्रभावसँगै मौलिक कला, संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेको अवस्थामा यस्ता उत्सवले सांस्कृतिक सम्पदाको संरक्षण, प्रचारप्रसार र पुस्तान्तरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।