जनकपुरधाम, २८ असोज । धनुषामा धानबालीमा विभिन्न रोगको संक्रमण देखिएपछि यस वर्ष धान उत्पादनमा उल्लेख्य गिरावट आउने अनुमान गरिएको छ ।

जिल्लाको करिब २५ प्रतिशत धानबालीमा रोगको प्रकोप देखिएको र त्यसका कारण उत्पादनमा ३५ प्रतिशतसम्म कमी आउन सक्ने अनुमान गरिएको हो ।

धनुषामा करिब ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष भने करिब ४० हजार ५ सय १५ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । रोपाइँ भएको धानबालीमा समेत विभिन्न रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् ।

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख प्रदीपकुमार यादवका अनुसार जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा राइस ब्लास्ट, ब्राउन लिफ स्पट र सिथ ब्लाइट रोगको संक्रमण देखिएको छ । यी रोगका कारण धानको पात तथा बोटमा क्षति पुग्दा बालीको वृद्धि प्रभावित हुनुका साथै उत्पादन घट्ने जोखिम बढेको उनले बताए ।

धानबालीमा देखिएका रोग नियन्त्रण गर्न किसानलाई बालीको नियमित अनुगमन गर्न तथा रोगको लक्षण देखिनेबित्तिकै कृषि प्राविधिकसँग परामर्श लिन सुझाव दिइएको छ । रोगको पहिचान र प्राविधिक सिफारिसका आधारमा मात्रै उपयुक्त विषादी प्रयोग गर्नुपर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख यादवले रोग नियन्त्रणका लागि कारटाप हाइड्रोक्लोराइड नामक विषादी प्रयोग गर्न सुझाव दिएको जानकारी प्राप्त भएको छ । यद्यपि, कुन रोगमा कुन विषादी कति मात्रामा प्रयोग गर्ने भन्ने विषयमा प्राविधिकको सिफारिस पालना गर्न आवश्यक छ ।

धानबालीमा लागेको रोग समयमै नियन्त्रण गर्न नसकिए उत्पादनमा थप क्षति पुग्न सक्ने देखिएको छ । धानको पातमा देखिने असामान्य दाग, बोट ओइलाउने तथा बालीको वृद्धि रोकिनेजस्ता लक्षण देखिएमा किसानले समयमै प्राविधिक सहायता लिनुपर्ने हुन्छ ।

धनुषाका अधिकांश किसानको प्रमुख खाद्यान्न तथा आम्दानीको स्रोतका रूपमा रहेको धान उत्पादनमा गिरावट आएमा त्यसको प्रत्यक्ष असर किसानको आयस्तर र जिल्लाको समग्र कृषि उत्पादनमा पर्ने देखिन्छ । त्यसैले रोगको पहिचान, प्रभावकारी नियन्त्रण र किसानलाई समयमै प्राविधिक सेवा उपलब्ध गराउनु आवश्यक देखिएको छ ।