तथ्याङ्कमा एकरूपता कायम गर्न सरोकारवालाको जोड
जनकपुरधाम, २८ असोज । मधेश प्रदेशमा नीति निर्माण, विकास योजना छनोट तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन तथ्याङ्क सङ्कलन र व्यवस्थापन प्रणालीमा एकरूपता कायम गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सङ्घ, प्रदेश र स्थानीय तहबाट सङ्कलन हुने तथ्याङ्कमा त्रुटि तथा असमानता देखिँदा त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको उनीहरूको भनाइ छ ।
मधेश प्रदेशको नीति तथा योजना आयोगका सदस्य नवल यादवले तथ्याङ्क सङ्कलन प्रक्रियामा एकरूपता कायम गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।
तथ्याङ्कमा देखिने त्रुटिको प्रमुख कारण सङ्कलन विधिमा समानता नहुनु रहेको उल्लेख गर्दै उनले तथ्याङ्क सङ्कलनदेखि व्यवस्थापनसम्मको प्रक्रियालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
जीवनका हरेक क्षेत्रमा तथ्याङ्कको उपयोगिता बढ्दै गएको अवस्थामा विश्वसनीय तथ्याङ्कबिना प्रभावकारी नीति निर्माण र विकास योजना तर्जुमा गर्न कठिन हुने उनको भनाइ थियो ।
तथ्याङ्कको गुणस्तर सुधार गर्न सङ्कलन प्रक्रियामा देखिएका कमजोरी पहिचान गरी समाधान गर्नुपर्ने उनले बताए ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले पनि तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनका क्रममा त्रुटि हुने गरेको स्वीकार गरे । उनले पर्याप्त जनशक्तिको अभावलाई तथ्याङ्कसम्बन्धी काम प्रभावकारी हुन नसक्नुको प्रमुख कारणमध्ये एकका रूपमा उल्लेख गरे ।
तथ्याङ्क सङ्कलन र व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रत्येक स्थानीय तहमा तथ्याङ्कसम्बन्धी काम गर्ने कर्मचारीको व्यवस्था आवश्यक रहेको उनले बताए ।
स्थानीय तहबाटै तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनको काम प्रभावकारी रूपमा सञ्चालन गर्न सके राष्ट्रिय स्तरमा उपलब्ध हुने तथ्याङ्कको गुणस्तरसमेत सुधार गर्न सकिने उनको धारणा थियो ।
सङ्घ, प्रदेश र स्थानीय तहबीच तथ्याङ्क सङ्कलनको विधि तथा व्यवस्थापन प्रणालीमा समन्वय हुन नसक्दा विकास योजना छनोटदेखि कार्यान्वयनसम्म समस्या उत्पन्न हुन सक्ने सरोकारवालाको भनाइ छ ।
तथ्याङ्कको विश्वसनीयता कायम गर्न एकरूप कार्यविधि, दक्ष जनशक्तिको व्यवस्था तथा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।
विश्वसनीय तथ्याङ्कले आवश्यकतामा आधारित योजना निर्माण गर्न, स्रोतसाधनको उचित वितरण गर्न र विकास कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले तथ्याङ्क व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




