धनुषा रेडक्रसमा मंगलबार ७५ युनिट रगत मौज्दात
जनकपुरधाम, २७ असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधाममा ७५ युनिट रगत मौज्दात रहेको छ ।
शाखाले मंगलबार सार्वजनिक गरेको रक्त भण्डार विवरणअनुसार ५३ युनिट होल ब्लड र २२ युनिट प्याक्ड रेड ब्लड सेल्स (पीआरबीसी) मौज्दात रहेको हो ।
रक्त भण्डार विवरणअनुसार ए पोजेटिभ (A+) समूहको १० युनिट होल ब्लड र ५ युनिट पीआरबीसी, बी पोजेटिभ (B+) समूहको ८ युनिट होल ब्लड र ७ युनिट पीआरबीसी तथा ओ पोजेटिभ (O+) समूहको ३० युनिट होल ब्लड र ९ युनिट पीआरबीसी मौज्दात छ ।
त्यस्तै, एबी पोजेटिभ (AB+) समूहको १ युनिट होल ब्लड, बी नेगेटिभ (B-) समूहको २ युनिट, ओ नेगेटिभ (O-) समूहको १ युनिट र एबी नेगेटिभ (AB-) समूहको २ युनिट होल ब्लड मौज्दात रहेको विवरणमा उल्लेख छ ।
रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्ने भएकाले नियमित रक्तदानलाई निरन्तरता दिन नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाले आम नागरिकलाई आग्रह गरेको छ ।
शाखाका सभापति पंकजकुमार महतोले रक्तदानलाई मानव सेवाको महत्त्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताउँदै स्वस्थ व्यक्तिहरूलाई स्वेच्छिक रक्तदानमा सहभागी हुन आग्रह गरे ।
सभापति महतोले भने, ‘रक्तदान जीवन बचाउने महान् मानवीय कार्य हो । दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगको उपचारका क्रममा बिरामीलाई जुनसुकै समयमा रगत आवश्यक पर्न सक्छ । त्यसैले रगतको अभाव हुन नदिन सबैले नियमित रूपमा रक्तदान गर्ने संस्कारको विकास गर्नुपर्छ ।’
उनले रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै युवापुस्तालाई समेत यस अभियानमा जोड्न आवश्यक रहेको बताए ।
रक्तदानले आवश्यक परेका बिरामीलाई जीवनदान दिन सहयोग पुग्ने भएकाले सामाजिक उत्तरदायित्वका रूपमा यस अभियानमा सहभागी हुन उनले सबैलाई अनुरोध गरे ।
नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाले आवश्यकताअनुसार रगतका लागि कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशलाई आत्मसात् गर्न सबैमा अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




