जनकपुरधाम, २६ असोज । जनकपुरधाममा मादक पदार्थ सेवन गरी पसल तथा घरका सामग्री तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत असोज २३ गते राति करिब ८ बजेर २० मिनेटको समयमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित न्युरो अस्पताल नजिकै रहेको सुभाष मण्डलले सञ्चालन गरेको पसलमा तोडफोड भइरहेको सूचना प्राप्त भएको थियो ।

सूचनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० घर भई हाल सोही पसल रहेको घरमा बस्दै आएका करिब ४० वर्षीय ध्रुव झालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार आफूलाई पत्रकार तथा युट्युबर बताउने झाले मादक पदार्थ सेवन गरी पसलको बोर्ड, घरको रेलिङ तथा गमलाहरू तोडफोड गरेको पाइएको छ ।

उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि हातपात गर्नुका साथै अभद्र व्यवहारसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका झामाथि प्रचलित कानुनबमोजिम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

यता, झासँगै काम गर्ने नेपाली काँग्रेसकी प्रिया कर्णले पसलको बोर्ड मात्र तोडफोड गरेको दाबी गरिन् । उनले बोर्ड तोडैकै भरमा क्षतिपूर्तिभन्दा झालाई नियतवश र पुरानो रिसिइबीले धनुषा प्रहरीले पक्राउ गरेको बताएकी हुन् ।

कपिलेश्वरमा केही दिन अगाडी भएको प्रियंका दास मृत्यु प्रकरणलाई लिएर धनुषा प्रहरीले रिसिइबी साधेको उनको आरोप छ । उनले शुक्रबार नै पक्राउ परेका झालाई सोमबारसम्म नछाडिएको बताइन् ।

कुनै निवेदन, उजुरी नपरेपछि प्रहरीमाथि हातपातको आरोप लगाएर मुद्दा लगाइएको उनको आरोप छ । उनले झाले प्रहरीलाई हातपात नगेरको तथा गरेको भए सिसिटिभी फुटेज चेक गर्न माग गरिन् ।

उनले पुरानो रिसिइबीको कारण झालाई थुनामा राखेर निर्घात कुटपिट गरिएको आरोपसमेत लगाइन् ।

उनले आफू भेट्न जाँदा प्रहरीले भेट्न समेत नदिएको र घरधनीले कुनै उजुरी नगरेपछि प्रहरीले झालाई झुठा मुद्दा लगाएर थुनामा राखेको बताइन् ।

कपिलेश्वर घटनासँग जोडदै कर्णले एसपी साहबसँग सामान्य भनाभन भएको निहुँमा कुटिएको र मुद्दा चलाइएको कर्णले बताइन् ।

घटनाबारे प्रहरीले प्रचलित कानुनबमोजिम अनुसन्धान गरिरहेको जनाएको छ ।