जनकपुरधाम, २६ असोज । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत धनुषा प्रहरीले ध्वनि प्रदूषण गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका २४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार ठूलो आवाज निकाल्ने, तीव्र गतिमा जिगज्याग शैलीमा मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने तथा स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका मोटरसाइकलहरू कारबाहीको दायरामा ल्याइएको हो ।

नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये केहीमा नम्बर प्लेट नभएको र एउटा परीक्षण नम्बर प्लेट प्रयोग गरिएको मोटरसाइकलसमेत रहेको प्रहरीले जनाएको छ ।

ती मोटरसाइकलमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने र लापरबाहीपूर्ण सवारी सञ्चालनका कारण दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले प्रहरीले ट्राफिक व्यवस्थापन तथा सुरक्षा अभियानलाई तीव्रता दिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले ट्राफिक नियमको पूर्ण पालना गरी सवारीसाधन चलाउन जिल्लावासीलाई आग्रह गरेका छन् ।

उनले सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न प्रहरीको अभियानमा सहयोग गर्नसमेत अनुरोध गरे ।

प्रहरीले चाडपर्वको समयमा सवारीसाधन चलाउँदा तीव्र गति, ध्वनि प्रदूषण तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेजस्ता गतिविधि नगर्न सचेत गराएको छ ।