बुढीगण्डकी बाढीः ४ हेलिकप्टर परिचालन गरी ९५ जनाको उद्धार
गोरखा, २५ असोज । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले चारवटा हेलिकप्टर र स्थलमार्गबाट उद्धार कार्य जारी राखेको छ ।
बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ९५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार आइतबार बिहान आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि चारवटा हेलिकप्टरसहित स्थलमार्गबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उद्धार गरिएकामध्ये जगतबाट १७ जना, यारुबाट २२ जना, ठूलोढुङ्गाबाट १३ जना, दोभानबाट ३ जना, फिलिमबाट २ जना, न्याक्फेदीबाट १७ जना, पायुबाट १२ जना, नामरुङबाट ३ जना, देङ्गबाट ३ जना र धौलीबाट ३ जना रहेका छन् ।
उद्धार गरिएकामध्ये ९ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ ।
यसैबीच, बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्ने तयारीसमेत थालिएको छ । त्यसका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली परिचालन गरिएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




