जनकपुरधाम, २३ असोज । नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लावासीसँग आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले चाडपर्वलाई लक्षित गरी जिल्ला सुरक्षा समितिबाट एकीकृत सुरक्षा योजना–२०८३ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले चाडपर्वका बेला हुन सक्ने अपराधिक गतिविधि, दुर्घटना तथा अवाञ्छित क्रियाकलापबाट जोगिन सबैलाई सतर्क रहन आग्रह गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले चाडपर्व मनाउने क्रममा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्नुपर्नेमा जोड दिँदै गैरकानुनी गतिविधिमा संलग्न नहुन जिल्लावासीलाई आग्रह गरे ।

प्रशासनले चाडपर्वका बेला घर तथा पसल बन्द गरेर बाहिर जाँदा ढोका, झ्याल र ताल्चा राम्रोसँग लगाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

त्यस्तै, अनलाइन ठगीबाट बच्न अपरिचित व्यक्तिलाई रकम नपठाउन तथा ओटीपी र पासवर्ड गोप्य राख्न आग्रह गरिएको छ । ठगीमा परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिनसमेत प्रशासनले अनुरोध गरेको छ ।

चाडपर्वका अवसरमा जुवातास, सट्टेबाजी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न नहुन र पटका, आतसबाजी तथा विस्फोटक पदार्थको आयात, बिक्रीवितरण र प्रयोग नगर्न प्रशासनले सचेत गराएको छ ।

मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारीसाधन नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ ।

त्यसैगरी, मेला, बजार, मन्दिर तथा छठ घाटमा हुने भीडभाडका बेला बालबालिका, ज्येष्ठ नागरिक र बहुमूल्य सामानको विशेष ख्याल गर्न प्रशासनले अनुरोध गरेको छ ।

छठ पर्वका क्रममा नदी, पोखरी तथा अन्य जलाशयमा सावधानी अपनाउन र बालबालिकालाई एक्लै नछाड्नसमेत आग्रह गरिएको छ ।

देउसीभैलो तथा धार्मिक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सभ्य र मर्यादित व्यवहार अपनाउन, ध्वनि प्रदूषण हुने गरी डिजे नबजाउन तथा अरूलाई नकारात्मक असर पर्ने गतिविधि नगर्न प्रशासनले ध्यानाकर्षण गराएको छ ।

सामाजिक सञ्जालमा भ्रामक सूचना, अफवाह तथा धार्मिक वा साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले कुनै शंकास्पद गतिविधि, झैझगडा, दुर्घटना वा अपराधिक घटना देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ । साथै, चाडपर्वका समयमा अवाञ्छित वा गैरकानुनी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले चाडपर्वलाई सुरक्षित, व्यवस्थित र उल्लासमय बनाउन प्रशासनको आग्रह पालना गर्दै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न जिल्लावासीलाई अनुरोध गरेका छन् ।