जनकपुरधाम, २३ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ परेका प्रतिवादीहरू सवारी ज्यान, अभद्र व्यवहार, कर्तव्य ज्यान र लागुऔषधसम्बन्धी मुद्दाका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दाका तीन जनालाई क्रमशः तीन महिना, एक महिना र १५ दिन कैद सजाय तोकिएको थियो । तीमध्ये दुई जनालाई जनही दुई हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

त्यस्तै, अभद्र व्यवहार मुद्दामा एक महिनाको कैद, कर्तव्य ज्यान मुद्दामा एक वर्षको कैद र लागुऔषधसम्बन्धी मुद्दामा तीन वर्षको कैद सजाय तोकिएका प्रतिवादीसमेत पक्राउ परेका छन् ।

लागुऔषध मुद्दाका प्रतिवादीलाई २० हजार रुपैयाँ जरिवाना पनि तोकिएको प्रहरीले जनाएको छ ।