जनकपुरधाम, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका जनकपुरधाम उपमहानगरपालिका समितिका नगर सचिव प्रशान्त झाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

झाले शुक्रबार पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाउँदै पार्टीबाट अलग हुने निर्णय लिएको जानकारी गराएका हुन् ।

मधेशको अधिकार, पहिचान, समानता र सामाजिक न्यायका लागि भएको तेस्रो मधेश आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका झाले एक दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

राजनीतिक यात्राका क्रममा उनले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा संघको धनुषा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आबद्ध भई जनकपुरधाम उपमहानगरपालिका समितिको नगर सचिवका रूपमा संगठन निर्माण तथा पार्टीका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपालबीच एकीकरण भएर जसपा नेपाल गठन भएपछि पनि झाले नगर सचिवको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।

राजीनामा पत्रमा झाले पार्टीमा रहँदा संगठन, मधेशका मुद्दा तथा लोकतान्त्रिक र सामाजिक न्यायका सवालमा आफ्नो तर्फबाट योगदान गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।

राजनीतिक यात्राका क्रममा साथ, सहयोग, माया र मार्गदर्शन प्रदान गर्ने अग्रज, सहकर्मी, युवा साथी तथा शुभेच्छुकहरूप्रति उनले आभारसमेत व्यक्त गरेका छन् ।

आफ्नो राजनीतिक सोच, प्राथमिकता र आगामी यात्रालाई नयाँ ढंगले अघि बढाउन चाहेकाले पार्टीबाट अलग हुने निर्णय लिएको झाले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पार्टीमा रहँदा नेतृत्वबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उनले आजकै मितिदेखि जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी अलग भएको जनाएका छन् ।