जनकपुरधाम, २३ असोज । धनुषामा लागुऔषधको कारोबार तथा दुर्व्यसन नियन्त्रण गर्न र सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधिक गतिविधि रोक्न जनसरोकार अभियानले सरकारसँग माग गरेको छ ।

अभियानले शुक्रबार गृहमन्त्रीसमक्ष जिल्ला प्रशासन कार्यालय धनुषामार्फत ज्ञापनपत्र बुझाउँदै लागुऔषधको अवैध कारोबार नियन्त्रण, सामाजिक सञ्जालबाट हुने चरित्रहत्या तथा धार्मिक र जातीय सद्भाव खलबल्याउने गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको हो ।

अभियानका अनुसार जिल्लामा लागुऔषध दुर्व्यसनमा संलग्न व्यक्तिहरूको संख्या बढ्दै गएको छ । लागुऔषध दुर्व्यसनसँगै चोरी, सामाजिक सञ्जालमा अभद्र टिप्पणी, व्यक्तिको चरित्रहत्या तथा समाजमा धार्मिक र जातीय विभाजन सिर्जना गर्ने गतिविधि भइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

सामाजिक सञ्जालमार्फत वास्तविक घटनालाई अतिरञ्जित गर्ने, हुँदै नभएका घटनाबारे भ्रम फैलाउने र युवालाई अपराधिक गतिविधितर्फ प्रेरित गर्ने कार्यले सामाजिक सद्भावमा नकारात्मक असर पारेको अभियानको भनाइ छ ।

अभियानले यस्ता गतिविधि नियन्त्रण गर्न राज्यले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउँदै सामाजिक सञ्जालको कानुनसम्मत प्रयोग सुनिश्चित गर्न तथा गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

त्यसैगरी, सीमापारिबाट अवैध रूपमा भित्रिने प्रतिबन्धित लागुऔषधको बिक्रीवितरण र उपलब्धता रोक्न सुरक्षा तथा नियमनकारी निकायलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका–५ मा अमिन सफीमाथि भएको घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहर हुने व्यक्ति तथा घटनामा संलग्न रहेको पुष्टि हुने सहयोगीलाई समेत कानुनी कारबाही गर्न अभियानले आग्रह गरेको छ ।

समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै अभियानले कानुनको प्रभावकारी कार्यान्वयनमार्फत अपराध नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ ।

जनसरोकार अभियानका अध्यक्ष जितेन्द्र कुमार महासेठद्वारा हस्ताक्षरित ज्ञापनपत्र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषालाई समेत बोधार्थ दिइएको छ ।