प्रधान सेनापति ट्रफी सम्पन्न, एथलेटिक्समा महिला र पुरुषतर्फ नयाँ राष्ट्रिय कीर्तिमान
जनकपुरधाम, २३ असोज । नेपाली सेनाद्वारा आयोजित प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
असोज १२ गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रबार कायममुकायम प्रधान सेनापति रथी प्रदीप जङ्ग केसीको प्रमुख आतिथ्यमा समापन भएको हो ।
प्रतियोगितामा समग्रतर्फ श्री उपत्यका पृतनाले प्रथम स्थान हासिल गरेको छ भने गणतर्फ श्री पुरानो गोरख गण प्रथम भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतियोगितामा एथलेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडोसहित आठ विधामा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा नेपाली सेनाका १४ वटा टोली सहभागी थिए ।
प्रतियोगिताका विजेता टोली, उत्कृष्ट खेलाडी तथा रेफ्रीहरूलाई कायममुकायम प्रधान सेनापति रथी केसीसहित रथीवृन्दले ट्रफी, प्रमाणपत्र तथा कदरपत्र प्रदान गरेका थिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै राष्ट्रिय खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधामा नयाँ आर्मी रेकर्ड कायम गरेका छन् ।
प्रतियोगिताका क्रममा महिलातर्फ २०० मिटर दौड, ५ हजार मिटर दौड, लङ जम्प, ज्याभलिन थ्रो र सटपुट तथा पुरुषतर्फ १०० मिटर दौड, ४×४०० मिटर दौड र म्याराथनमा नयाँ आर्मी रेकर्ड कायम भएको सेनाले जनाएको छ ।

यसैगरी, पुरानो गोरख गणका ब.का.सि. सलिन देवानले पुरुष लङ जम्पमा तथा काली रक्षा गण (ई) की अम. जयरानी थारुले महिलातर्फ ४०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
प्रतियोगिताले नेपाली सेनाभित्र खेलकुद प्रतिभाको पहिचान, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय खेलकुदको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।


