जनकपुरधाम, २३ असोज । वडा दशैँको सार्वजनिक बिदाका समयमा पनि उच्च अदालत जनकपुरले बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको दर्ता तथा सुनुवाइ गर्ने भएको छ ।

अदालतले दशैँ बिदामा अत्यावश्यक न्यायिक सेवा सञ्चालनका लागि न्यायाधीशसहित आवश्यक कर्मचारी खटाउने व्यवस्था गरेको हो ।

उच्च अदालत जनकपुरको प्रशासन शाखाले शुक्रबार सूचना जारी गर्दै २०८३ सालको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालतमा सार्वजनिक बिदा हुने भए पनि केही अत्यावश्यक न्यायिक कामकारबाही नियमित गर्ने जनाएको हो ।

अदालतका अनुसार असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहनेछ । तर, न्याय प्रशासन ऐन, २०७३ को दफा २६ (१) अनुसार बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता तथा सुनुवाइ गरिनेछ ।

त्यसैगरी, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिमका कामकारबाहीसमेत सञ्चालन हुने सूचनामा उल्लेख छ । उक्त सेवा सञ्चालनका लागि अदालतका न्यायाधीश तथा आवश्यक कर्मचारीलाई जिम्मेवारी तोकिएको छ ।

सूचनाअनुसार घटस्थापना, विजयादशमी र शनिबारबाहेक बिदाको अवधिमा तोकिएका न्यायिक कामकारबाही सञ्चालन हुनेछन् ।

अदालतले बन्दीप्रत्यक्षीकरणलगायतका निवेदन दर्ता तथा सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्मको समय निर्धारण गरेको छ । दिउँसो १ बजेसम्म दर्ता भएका निवेदनको सोही दिन सुनुवाइ हुनेछ भने १ बजेपछि दर्ता भएका निवेदनको सुनुवाइ भोलिपल्ट गरिनेछ ।

दशैँ बिदाका कारण न्यायिक उपचारबाट सेवाग्राही वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अत्यावश्यक न्यायिक सेवा सञ्चालनको व्यवस्था गरिएको अदालतको सूचनामा उल्लेख छ ।