महोत्तरी, २३ असोज । महोत्तरीको एकडारा गाउँपालिका–१ का २५० परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयले लालपुर्जा पाएसँगै आफ्नो जग्गामाथिको कानुनी स्वामित्वसमेत प्राप्त गरेका हुन् ।

नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । साविक एकडारा गाविसका वडा नं. १, २, ३, ४ र ६ का बासिन्दाले लालपुर्जा प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा आर्थिक वर्ष २०६९÷७० मै जग्गाको नापजाँच सम्पन्न भएको थियो । तर, नापनक्सा सकिए पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा जग्गाधनी प्रमाण पुर्जा वितरणको काम लामो समयसम्म रोकिएको थियो । करिब डेढ दशकदेखि प्रतीक्षामा रहेका स्थानीयले अहिले आएर जग्गाको आधिकारिक स्वामित्व प्राप्त गरेका हुन् ।

लालपुर्जा प्राप्त भएपछि स्थानीय परिवारलाई जग्गाको खरिदबिक्री, बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिनेलगायतका काममा सहज हुने विश्वास गरिएको छ । साथै, जग्गाको स्वामित्वसम्बन्धी विवाद निरुपण गर्न र सम्पत्तिको कानुनी हैसियत स्पष्ट पार्नसमेत यसले सहयोग पुग्नेछ ।

लामो समयदेखि जग्गामा बसोबास गर्दै आए पनि स्वामित्वको आधिकारिक प्रमाण नहुँदा विभिन्न समस्या भोग्दै आएका परिवारका लागि लालपुर्जा वितरणले राहत प्रदान गरेको छ ।