रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
जनकपुरधाम, २३ असोज । नेपाली सेनाले सञ्चारकर्मीलाई रक्षा तथा सुरक्षा क्षेत्रका विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालन गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
महोत्तरीको बर्दिबासस्थित मध्य पूर्वी पृतना मुख्यालयमा असोज २० गतेदेखि सञ्चालन भएको ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रमको समापन समारोहमा मध्य पूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले अभिमुखीकरण कार्यक्रममा सहभागी २१ जना सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरे ।
सोही अवसरमा मध्य पूर्वी पृतना मुख्यालयअन्तर्गतका जिल्लामा लामो समयदेखि नेपाली सेनासम्बन्धी रेडियो कार्यक्रम प्रसारण गर्दै आएका नौवटा एफएम रेडियो स्टेसनलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
चारदिने कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई नेपाली सेनाका विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य र समसामयिक विषयमा अन्तरक्रियासमेत गराइएको थियो ।
नेपाली सेनाका अनुसार यस किसिमका अभिमुखीकरण कार्यक्रमले विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई सेनासम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषण गर्न सहज बनाउनुका साथै विषयवस्तुबारे स्पष्टता प्रदान गर्ने विश्वास लिइएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रमको समापन असोज २३ गते भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




