रेडक्रस धनुषामा शुक्रबार ७२ युनिट रगत मौज्दात
जनकपुरधाम, २३ असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधामको रक्त भण्डारमा शुक्रबार ७२ युनिट रगत मौज्दात रहेको छ ।
शाखाले सार्वजनिक गगेको रक्त भण्डार विवरणअनुसार बी पोजेटिभ (B+) समूहको २१ युनिट, ओ पोजेटिभ (O+) समूहको ४६ युनिट, एबी पोजेटिभ (AB+) समूहको २ युनिट, ओ नेगेटिभ (O−) समूहको १ युनिट र ए नेगेटिभ (A−) समूहको २ युनिट रगत मौज्दात रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले आवश्यक परेको समयमा बिरामीलाई रगत उपलब्ध गराउन नियमित रक्तदान कार्यक्रम र रक्तदाताको सक्रियता महत्त्वपूर्ण हुने बताए ।
उनले रक्तदानलाई मानवीय सेवाको महत्त्वपूर्ण कार्यका रूपमा लिँदै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरे ।
उनका अनुसार दुर्घटना, शल्यक्रिया, प्रसूति तथा अन्य स्वास्थ्य समस्याका कारण बिरामीलाई जुनसुकै समयमा रगत आवश्यक पर्न सक्ने भएकाले रक्तदानप्रति सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ ।
रेडक्रसले आवश्यक परेका बिरामीका लागि रगतको व्यवस्था गर्न तथा रक्त भण्डारसम्बन्धी जानकारी लिन सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
रक्तदान जीवनदान भएकाले सबैले यस अभियानमा सहभागी हुनुपर्ने शाखाको सन्देश छ ।


