कांग्रेस विभाजनतर्फ उन्मुख, निधिले भने– ‘अब नयाँ घर निर्माण गर्नुपर्छ’
जनकपुरधाम, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी वैचारिक तथा सांगठनिक रूपमा विभाजित भएको दाबी गर्दै अब नयाँ ढंगबाट संगठन निर्माण गर्नुपर्ने बताएका छन् ।
जनकपुरधाममा नेपाली कांग्रेस धनुषाको १५औँ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता निधिले विशेष महाधिवेशनपछि कांग्रेस दुई धारमा विभाजित भएको दाबी गरेका हुन् ।
कांग्रेस विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन आह्वान गर्ने पक्ष नै रहेको उनको आरोप थियो ।
लोकतन्त्र बहुमतको अंकमा मात्र सीमित नहुने भन्दै निधिले पार्टी सञ्चालनमा प्रक्रिया र पद्धतिको पनि उत्तिकै महत्व हुने बताए ।
निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार आफूहरूको पक्षमा ४६ प्रतिशत आधार रहेको दाबी गर्दै उनले त्यसलाई बेवास्ता गरेर गरिएका निर्णय स्वीकार्य नहुने जिकिर गरे ।
विशेष महाधिवेशनपछि विकसित घटनाक्रमले तत्काल पार्टी एकता सम्भव नदेखिएको भन्दै निधिले अब संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताए ।
उनले विगतमा पनि कांग्रेसभित्र देखिएका विभाजन र मतभेद समयक्रममा समाधान भएको स्मरण गर्दै भविष्यमा परिस्थिति परिवर्तन हुनसक्ने धारणा राखे ।
निधिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई वडा तहदेखि नै संगठन विस्तारमा सक्रिय हुन आग्रह गरे ।
युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै उनले आफू वैचारिक रूपमा सक्रिय रहेको र पार्टी पुनर्निर्माणमा निरन्तर लागिरहने बताए ।
पञ्चायतकालको उदाहरण दिँदै उनले संगठन बलियो भए कठिन परिस्थितिसमेत पार गर्न सकिने भएकाले कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।


