जनकपुरधाम, २२ असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाले मानवीय सेवा र जीवनरक्षालाई प्राथमिकतामा राख्दै २४ घण्टे एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

रेडक्रस धनुषाका अनुसार धनुषाधाम र जनकपुरधामलाई लक्षित गरी एम्बुलेन्स सेवा उपलब्ध गराइएको हो ।

आकस्मिक दुर्घटना, बिरामी तथा उपचारका लागि तत्काल अस्पताल लैजानुपर्ने अवस्थाका नागरिकले जुनसुकै समयमा एम्बुलेन्स सेवा लिन सक्नेछन् ।

रेडक्रस धनुषाका सभापति पंकजकुमार महतोले एम्बुलेन्स सेवा आर्थिक रूपमा कमजोर तथा आकस्मिक अवस्थामा परेका नागरिकका लागि महत्वपूर्ण सहयोगी बन्ने बताए ।

उनका अनुसार मानवीय सेवाको मूल उद्देश्यअनुसार जिल्लाका नागरिकलाई आवश्यक परेको समयमा छिटो र सहज रूपमा सेवा उपलब्ध गराउने प्रयास गरिएको हो ।

सभापति महतोले भने, ‘आकस्मिक अवस्थामा बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकिएमा धेरैको जीवन जोगाउन सकिन्छ । त्यसैले रेडक्रसले एम्बुलेन्स सेवालाई २४ घण्टा उपलब्ध हुने गरी सञ्चालन गरेको हो । मानवीय सेवा, सहयोग र जीवनरक्षाका लागि आवश्यक परेको समयमा नागरिकले रेडक्रससँग सम्पर्क गर्न सक्नुहुन्छ ।’

रेडक्रस धनुषाका अनुसार जनकपुरधामका लागि अरमान कुमार साहमार्फत ९८४४०५४३३५ र ९८४४०५४३२९ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

धनुषाधामका लागि शिव प्रसाद साहमार्फत एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको कार्यालय सम्पर्क नम्बर ०४१–५९०४७० र रक्तसञ्चार सेवाका लागि ०४१–५२०८७० मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

रेडक्रसले एम्बुलेन्स सेवासँगै रक्तसञ्चार तथा अन्य मानवीय सेवामार्फत जिल्लावासीलाई सहयोग गर्दै आएको जनाएको छ ।