जनकपुरधाम, २२ असोज । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिमपथ नजिकै चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बिहीबार साँझ करिब ७ बजेर १० मिनेटमा जनकपुरधाम–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी र २५ वर्षीय ईम्तियाज राइनमाथि धारिलो हतियार चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाको छाती तथा पेटमा चक्कु प्रहार गरिएको थियो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएको थियो ।

अस्पतालमा चिकित्सकले साँझ ७ बजेर १५ मिनेटमा जाँच गर्दा आमिन साफीलाई मृत घोषणा गरेका थिए । उनको शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका ईम्तियाज राइनको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जनकपुरधाम–५ कै करिब २२ वर्षीय ‘गुण्डा’ भनिने मोहम्मद ईर्साद खानलाई नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसइवीका कारण घटना भएको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

डीएसपी खनालका अनुसार घटनाको वास्तविक कारण तथा घटनाको सम्पूर्ण पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको छ ।