ग्रामीण महिला किसानको सशक्तीकरणसँगै सम्मान र नेतृत्व बढाउन जोड
जनकपुरधाम, २२ असोज । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरणसँगै नेतृत्व विकास, जलवायु उत्थानशील कृषि र लैङ्गिक उत्तरदायी शासनलाई प्रदेश तथा स्थानीय तहका नीति, योजना र बजेटमा प्राथमिकताका साथ समेट्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको आयोजनामा बिहीबार जनकपुरधाममा आयोजित ‘महिला नेतृत्व, जलवायु उत्थानशीलता र लैङ्गिक उत्तरदायी शासनमार्फत कृषि–खाद्य प्रणाली रूपान्तरण’ विषयक प्रादेशिक नीति संवादमा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले ग्रामीण महिलालाई कृषि क्षेत्रका लाभग्राहीका रूपमा मात्र नभई किसान, उद्यमी, नेतृत्वकर्ता तथा परिवर्तनका संवाहकका रूपमा स्थापित गर्नुपर्ने बताए ।
उनले महिला किसानको भूमि, कृषि प्रविधि, वित्तीय सेवा, बजार तथा निर्णय प्रक्रियामा पहुँच बढाउन आवश्यक रहेको उल्लेख गर्दै महिलामाथिको अवैतनिक हेरचाहसम्बन्धी कामको बोझ घटाउन पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।
मन्त्री तत्माले प्रदेश सरकारले उद्यम कोष विकास गर्ने तथा किसान परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको जानकारी दिँदै किसानको आर्थिक अवस्था सुधारसँगै उनीहरूको सामाजिक सम्मान बढाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा UN Women नेपालकी प्रतिनिधिले महिला किसानको आर्थिक सशक्तीकरणका लागि उत्पादनशील स्रोत, वित्तीय सेवा, हेरचाहसम्बन्धी पूर्वाधार तथा सेवामा पहुँच र महिला नेतृत्व तथा सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।
महिलाको भूमि, कृषि सामग्री, प्रविधि, ऋण, वित्तीय सेवा तथा बजारमा पहुँच विस्तार गर्न सके कृषि र उद्यमबाट उनीहरूको आम्दानी वृद्धि गर्न सकिने उनको भनाइ थियो ।
JP RWEE कार्यक्रमअन्तर्गत मधेश प्रदेशका सिरहा र सप्तरीका पाँच स्थानीय तहमा महिला किसानसँग सम्बन्धित कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रममा हालसम्म ५ हजार ७ सयभन्दा बढी व्यक्ति सहभागी भएका छन् भने २०० महिला किसान समूहलाई कृषि सामग्री, उद्यमशीलता, वित्तीय साक्षरता र नेतृत्व विकासमा सहयोग गरिएको जनाइएको छ ।
कार्यक्रमका अनुसार घरपरिवारको खाद्य असुरक्षा १३ प्रतिशतले घटेको, औसत वार्षिक कृषि आम्दानी ६३ प्रतिशतले वृद्धि भएको र गैरकृषि आम्दानी १४ प्रतिशतले बढेको छ ।
त्यस्तै, ८१ प्रतिशत महिलाको जलवायु स्मार्ट कृषि सामग्रीमा पहुँच पुगेको तथा ४५ प्रतिशत महिलाले नयाँ व्यवसाय सुरु वा व्यवसाय विस्तार गरेका छन् ।
नीति संवादका क्रममा रोशन चिरागको स्क्रिप्ट तथा सुनील मल्लिकको संगीतमा मिथिला नाट्यकला परिषद्का कलाकारहरूले ‘नारी, माटो तथा उद्यमशीलता’ विषयक गीतिनाटकसमेत प्रस्तुत गरेका थिए ।
सांस्कृतिक प्रस्तुतिमार्फत महिला, कृषि, माटो र उद्यमशीलताबीचको सम्बन्धलाई उजागर गरिएको थियो ।
संवादबाट महिला किसानको नेतृत्व विकास, जलवायु स्मार्ट कृषि, बजार पहुँच, श्रम बचत गर्ने प्रविधि तथा हेरचाहमैत्री सेवामा लगानी बढाउँदै सफल अभ्यासलाई प्रदेश तथा स्थानीय सरकारका नीति, बजेट र कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।





