८ फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, २२ असोज । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले खोजतलास तथा आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये ५ जना लागूऔषध मुद्दाका प्रतिवादी छन् ।
उनीहरूमध्ये एक जनालाई २ महिना, अर्कालाई १ वर्ष कैदसहित ५ हजार रुपैयाँ जरिवाना, अर्का एक जनालाई १ महिना २६ दिन कैदसहित १२ हजार रुपैयाँ जरिवाना तथा अन्य दुई जनालाई क्रमशः २ महिना र १ महिना कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बैंकिङ कसुर मुद्दामा १५ दिन कैद सजाय तोकिएका एक जना र ठगी मुद्दामा सजाय तोकिएका एक जना गरी थप दुई जना पक्राउ परेका छन् ।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अदालतबाट सजाय तोकिएपछि फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिइरहेको छ ।


