धनुषा रेडक्रसमा १०० युनिट रक्त भण्डार
जनकपुरधाम, २२ असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखा, जनकपुरधाममा हाल १०० युनिट रक्त भण्डार रहेको छ ।
शाखाले बिहीबार सार्वजनिक गरेको रक्तभण्डार विवरणअनुसार विभिन्न रक्त समूह गरी ९२ युनिट होल ब्लड र ८ युनिट पीआरबीसी (प्याक्ड रेड ब्लड सेल) मौज्दात रहेको छ ।
बिहीबार सार्वजनिक गरिएको विवरणअनुसार ‘ए पोजेटिभ’, ‘बी पोजेटिभ’, ‘ओ पोजेटिभ’, ‘एबी पोजेटिभ’ तथा विभिन्न नकारात्मक रक्त समूहको रगत भण्डारण गरिएको छ ।
विवरणमा ‘बी नेगेटिभ’ रक्त समूहको मौज्दात शून्य रहेको जनाइएको छ ।
रेडक्रस धनुषाका सभापति पंकजकुमार महतोले रक्तको आवश्यकता जुनसुकै बेला पर्न सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
सभापति महतोले भने, ‘रक्तको विकल्प रगत नै हो । आपत्कालीन अवस्थामा बिरामीको जीवन बचाउन रगतको तत्काल आवश्यकता पर्न सक्छ । त्यसैले स्वस्थ व्यक्तिहरूले नियमित रूपमा रक्तदान गरी मानवीय सेवामा योगदान गर्नुपर्छ ।’
उनले रक्तदानलाई आपत्कालीन अवस्थामा गरिने कार्यका रूपमा नभई नियमित सामाजिक दायित्वका रूपमा विकास गर्नुपर्ने बताए ।
रक्तदानसम्बन्धि जनचेतना विस्तार गर्दै युवालाई समेत अभियानमा जोड्न आवश्यक रहेको उनको भनाइ छ ।
रेडक्रस धनुषाले आवश्यक परेका बिरामी तथा सेवाग्राहीलाई रक्त उपलब्ध गराउन रक्तभण्डार व्यवस्थापन गर्दै आएको जनाएको छ ।
शाखाले ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित नियमित रक्तदानका लागि सर्वसाधारणलाई आह्वानसमेत गरेको छ ।
रेडक्रसका अनुसार एक युनिट रक्तदानले आवश्यक परेको अवस्थामा कसैको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ । त्यसैले स्वस्थ व्यक्तिहरूलाई रक्तदानमा सहभागी हुन शाखाले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




