सप्तरी, २१ असोज । सप्तरीमा ७० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले बुधबार बोदेबर्साइन नगरपालिका–५ स्थित बजार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिका–५ का २१ वर्षीय राकेश यादव र भारतको बिहार राज्य, मधुबनी जिल्ला बलुवा निवासी २६ वर्षीय इमतियाज मोहम्मद रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ७० ग्राम खैरो हेरोइन, एउटा मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।