जनकपुरधाममा अव्यवस्थित पार्किङ हटाउन संयुक्त स्ट्राइक टोली परिचालन
जनकपुरधाम, २१ असोज । जनकपुरधाम उपमहानगरपालिका भित्रको अव्यवस्थित पार्किङ नियन्त्रण गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन संयुक्त अभियान सुरु गरिएको छ ।
बुधबारदेखि जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा र नगर प्रहरीको संयुक्त स्ट्राइक टोली परिचालन गरी सडक तथा सार्वजनिक स्थानमा जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने अभियान थालिएको हो ।
अभियानअन्तर्गत बुधबार जिरोमाइल बसपार्कदेखि रामानन्द चोकसम्म प्रहरी तथा नगर प्रहरीको टोली परिचालन गरिएको थियो ।
टोलीले सिट्ठी बजाउँदै सडकमा अव्यवस्थित रूपमा रोकिएका तथा पार्किङ गरिएका सवारीसाधनलाई व्यवस्थित स्थानमा पार्किङ गर्न आग्रह गर्नुका साथै सडक आवागमनमा अवरोध हुने गरी गरिएका पार्किङ हटाएको जनाएको छ ।
जथाभावी पार्किङका कारण जनकपुरधामका मुख्य सडक तथा चोकहरूमा सवारी आवागमन प्रभावित हुँदै आएको भन्दै प्रहरीले ट्राफिक व्यवस्थापनलाई नियमित र प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले सडकमा जथाभावी सवारीसाधन पार्किङ गर्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना गर्नुका साथै सर्वसाधारणलाई समेत आवागमनमा कठिनाइ हुने भएकाले अभियान सञ्चालन गरिएको बताए ।
उनले भने, ‘सडकमा जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सवारी आवागमन सहज र सुरक्षित बनाउने उद्देश्यले संयुक्त रूपमा अभियान सञ्चालन गरेका हौँ । अभियानलाई आवश्यकताअनुसार जनकपुरधामका अन्य क्षेत्रहरूमा समेत निरन्तरता दिइनेछ ।’
प्रहरीका अनुसार अभियानका क्रममा चालक तथा सवारीधनीलाई सडकमा जथाभावी पार्किङ नगर्न सचेत गराउँदै ट्राफिक नियम पालना गर्न आग्रह गरिनेछ ।
अभियानले जनकपुरधामको बढ्दो सवारी चाप व्यवस्थापन गर्नुका साथै पैदलयात्री र सर्वसाधारणको आवागमनलाई समेत सहज बनाउने विश्वास गरिएको छ ।














तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




