प्रहरीलाई १० थान मोटरसाइकल हस्तान्तरण
जनकपुरधाम, २१ असोज । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन १० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
मन्त्रालयले बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई ९ थान र मधेश प्रदेश प्रहरी गणलाई १ थान ‘सुपर स्प्लेन्डर’ मोटरसाइकल हस्तान्तरण गरेको हो ।
प्रहरीको दैनिक गस्ती, सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले मोटरसाइकल उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
मोटरसाइकल हस्तान्तरणसँगै सर्लाही जिल्लामा प्रहरीको द्रुत परिचालन, गस्ती तथा सेवा प्रवाहमा थप सहजता हुने विश्वास लिइएको छ । साथै मधेश प्रदेश प्रहरी गणको कार्यसम्पादनमा समेत सवारी साधनको उपलब्धताले सहयोग पुग्ने जनाइएको छ ।
मधेश प्रदेश सरकारले प्रहरीको भौतिक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने क्रमलाई निरन्तरता दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




