जनकपुरधाम, २१ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्ला अदालत धनुषाबाट भएको फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई बुधबार जिल्लाका विभिन्न स्थानबाट खोजतलास तथा आवश्यक समन्वय गरी पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये चोरी मुद्दामा दोषी ठहर भएका दुई जना, लागुऔषध मुद्दाका दुई जना, कुटपिट तथा अंगभंग मुद्दाका तीन जना र लेनदेन बिगोसम्बन्धी मुद्दाका एक जना रहेका छन् ।

पक्राउ परेका एक जनामाथि चोरी मुद्दामा ३ वर्ष कैद र अर्कामाथि ६ महिना कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, लेनदेन बिगो मुद्दामा एक जनालाई १ वर्ष कैद सजाय तोकिएको छ ।

लागुऔषध मुद्दामा एक जनालाई १ महिना कैदसहित ५ हजार रुपैयाँ जरिवाना र अर्कालाई १५ दिन कैद तथा १ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेकामध्ये एक जनालाई १५ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा दुई जनालाई १–१ महिना कैद र १–१ हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।

चोरी मुद्दामा पक्राउ परेका एक जनालाई २५ दिन कैद र अर्कालाई ६ महिना कैदसहित ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीलाई खोजी तथा पक्राउ गर्ने कार्यलाई निरन्तरता दिइएको जानकारी दिए ।